साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो — OSNepal

साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो

LC (KTM) August 15, 2022 0

स्याङ्जा-साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री पार्वतीलाई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ छायाँ क्षेत्र मन्दिर (छाङ्छाङ्दी) मा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–४ को उक्त मन्दिरमा दर्शनका लागि टाढा टाढाबाट दर्शनार्थी आउने गरेका छायाँ क्षेत्र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । “सोमबारका दिन पूजा आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास रही आएको छ”, उहाँले भन्नुभयो, “मनले चाहेको वर माग्दा पुग्ने धार्मिक विश्वास र सिद्धार्थ राजमार्गसँगैको धार्मिकस्थल भएकाले यातायातको सहज पहुँचले दर्शनार्थीको भीड हुने गरेको छ ।”

मन्दिरमा भीड हुने गरेका कारण टाढाटाढाका दर्शनार्थीहरु अघिल्लै दिन आएर पनि बिहानै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा स्याङ्जासहित पोखरा, पाल्पा, बुटवल, चितवन, बाग्लुङ, पर्वत, तनहुँबाट दर्शनार्थी आउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । वृद्ध अशक्तलाई निःशुल्क तथा अन्यलाई द्रूत सेवावापत रु एक सय लिएर छिटो दर्शन गर्ने व्यवस्था समितिले मिलाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–६ मा अवस्थित केलादीधाम, गल्याङ नगरपालिका–१ मा अवस्थित रामनदीधामस्थित शिवालय, गल्याङ ११ मा रहेको हुँगीघाट, स्याङ्जा, गुल्मी र पर्वतको सङ्गमस्थल सेतीवेणीमा अवस्थित सेतीवेणी शीला, पुतलीबजार ४ गुढीखोलाको चम्पागिरी सन्यास आश्रमलगायत शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर