भगवान् शिवको प्रिय महिना साउनको अन्तिम सोमबार आज समापन हुँदै — OSNepal

भगवान् शिवको प्रिय महिना साउनको अन्तिम सोमबार आज समापन हुँदै

LC (KTM) August 15, 2022 0

महोत्तरी- साउन महिनाको अन्तिम सोमबार आज हिन्दू परम्पराअनुसार साउने मेला समापन हुँदैछ । आज पनि जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ र मङ्लनाथसहितका प्रसिद्ध शिवालयमा एकाबिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा साउन महिना भगवान् शिवको प्रिय महिनाको रुपमा लिइन्छ ।

साउनको सोमबार शिवका उपासकले व्रत बसी पूजा आराधना गर्दछन् । मैैथिल परम्परामा तीर्थ, व्रत र धार्मिक अनुष्ठान प्राय चन्द्रमासका आधारमा गर्ने चलन छ तर वैशाख सङ्क्रान्तिको जुडशीतल, साउने सङ्क्रान्ति, असोज सङ्क्रान्तिको विश्वकर्मा पूजा र माघ सङ्क्रान्तिका दिन मनाइने तिलासक्रायत पर्व सौरमासको आधारमा मनाइन्छन् ।

मास गणनाको आधारमा साउने मेला सौरमास र चन्द्रमास दुबैभित्र परेका सोमबार अति उत्तम मानिन्छन् । दुबै मासभित्र यसपाली साउनमा २,९, १६ र २३ गते गरी चार सोमबार परेका थिए । सौरमासको गणनाले आजको सोमबार साउनमै परेपनि चन्द्रमासको गणनाले तीन दिन पहिले नै भदौ लागिसकेको छ । यद्यपि साउने व्रत लिएका वर्तालुले आज पनि पूर्ववत् निष्ठाका साथ व्रत लिएका छन् ।

शिव अनुष्ठानका लागि विशेष दिन जुराउनु पर्ने भए पनि व्रत भने आज पनि लिन मिल्ने बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताउनुभयो । साउने सोमबारका वर्तालुले आज शिवालयका शिवलिङगमा जल, पूmल, गाईको दूध र बेलपत्रसहित सामग्री चढाएर व्रत समपन्न गरेको पुकारा गर्छन् । यस व्रतका प्रभावले यस जन्ममा सुख, शान्ति, समृद्धि, कल्याण र मृत्युपछि कैलासबास पाइन विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर