पर्यटक तथा भक्तजनको प्रमुख गन्तव्य बन्दै प्रसिद्ध तीर्थस्थल डोलेश्वर — OSNepal

पर्यटक तथा भक्तजनको प्रमुख गन्तव्य बन्दै प्रसिद्ध तीर्थस्थल डोलेश्वर

LC (KTM) August 15, 2022 0

भक्तपुर, ३० साउन- सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने प्रसिद्ध डालेश्वर महादेव मन्दिर बाह्य तथा आन्तरिक पर्यटक र भक्तजनको प्रमुख गन्तव्य बन्न थालेको छ । साउनको सोमबार, महाशिवरात्री, अक्षय तृतीया, तीजलगायतका पर्वमा यस मन्दिरमा ५०औँ हजार भक्तजनको भीड लाग्ने गरेको छ ।

यो साउनमा पाँच साता सोमबार परेको र आज महिनाको पाँचौँ तथा अन्तिम सोमबार एकैदिन डोलेश्वरमा ६० हजारभन्दा बढी दर्शनार्थीले पूजा तथा दर्शन गरेका छन् । यो साउन महिनामा डोलेश्वरमा दुई लाखभन्दा बढीले दर्शन गरेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं वडा नं ८ का पूर्ववडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटक एवं भक्तजनको प्रमुख गन्तव्य बन्दै आएको डोलेश्वरमा नेपालका विभिन्न जिल्लाका साथै विशेषगरी भारतबाट आउने पर्यटक एवं भक्तजनको भीड लाग्ने गरेको उहाँ बताउनुहुन्छ । केही वर्षयता भारतीय र अन्य देशका पर्यटकको पनि आगमन बढेको छ । डोलेश्वर महादेवको दर्शन तथा यात्रा नगरी चारधामको यात्रा पूरा हुँदैन भन्ने मान्यतासँगै विभिन्न पर्वमा भारतदेखि हजारौँ हिन्दू धर्मावलम्बी डोलेश्वरमा पूजा एवं दर्शन गर्न आउने गरेका हुन् ।

यस्तो छ डोलेश्वरको किंवदन्ती
महाभारतको युद्धपछि पाँच पाण्डव स्वर्गको यात्राको निम्ति निस्कन्छन् । केदारनाथको दर्शनपछि मात्र स्वर्ग प्रवेश पाउने आकाशवाणीपछि पाण्डवहरु केदारनाथको दर्शन गर्न हालको भारतस्थित उत्तरापन्थ जान्छन् । पाण्डवहरुले भाइबन्धु मारेर आएको हुँदा केदारनाथले उनीहरुलाई दर्शन दिनुपर्ला भनी भैँसीको रूप लिन्छन् ।

उत्तरापन्थ पुग्दा केदारनाथलाई नदेखेपछि पाण्डवहरुले दिव्यदृष्टि लगाएर हेर्दा केदारनाथ भैँसीको रूपमा बसेको चाल पाउँछन् र त्यस भैँसीस्वरूप केदारनाथ कहाँ जाँदा भैँसी भाग्न खोजेपछि पाण्डवहरुले पुच्छर समाउँछन् । पाण्डवले आफ्नो दर्शन गर्लान् भनेर भैँसीको स्वरूप धारण गरेको केदारनाथले आफ्नो टाउको जमिनमा गाड्छन र पाण्डवहरुले उनको दर्शन गर्न पाउँदैनन् ।

त्यति नै बेला केदारनाथले आकाशवाणी गर्दै ‘मेरो दर्शन गर्ने भए नेपाल उपत्यकामा आउनू’ भन्दै नेपालको भक्तपुरस्थित सिपाडोलमा आएर अन्र्तध्यान हुन्छन् । पाँच पाण्डव त्यही आकाशवाणीअनुसार भक्तपुरको डोलेश्वर आएर केदारनाथको दर्शन गरेर स्वर्ग जान्छन् भन्ने किंवदन्ती छ । पाण्डवहरु त्यहाँ आएको पुष्टि गर्ने डोलेश्वर महादेव मन्दिरभन्दा १०० मिटर वर बिमलीघाटमा पाँच पाण्डवको आकृति रहेको ढुङ्गाका मूर्ति रहेका छन् । यहाँ अन्य पोखरी र केही ऐतिहासिक संरचना रहेको तर तिनीहरुको उत्खनन आवश्यक रहेको उहाँको भनाइ छ ।

कहिले घोषणा भयो केदारनाथको शिर

डोलेश्वर महादेव मन्दिरलाई २०६६ साल भदौ ६ गते भारत उत्तराञ्चल प्रदेशस्थित केदार वैराग्य पीठाधिश्वर श्रीश्रीश्री १००८ श्री भीमाशङ्करलिङ्ग शिवाचार्यले केदारनाथको शिर भएको घोषणा गर्नुभएको हो । भरत जङ्गम, किरण थापालगायतको प्रयासमा नेपाल आउनुभएका शिवाचार्यले केदारनाथको शिर डोलेश्वरनै रहेको घोषणा गरेपछि यहाँ पूजा तथा रुद्राभिषेक गरी महायज्ञसमेत लगाइएको थियो ।

मन्दिरमा घोषणा गरेको भाद्र ६ गते, प्रत्येक वर्षको अक्षय तृतीया, शिवरात्रि, साउनको सोमबार, तीज जस्ता पर्वमा डोलेश्वरमा भव्य मेला लाग्ने गर्दछ । महाशिवरात्री, अक्षय तृतीयामा भने चारै वटा ढोका खुल्ला गरेर मन्दिरभित्रै प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएपछि हजारौँ दर्शनार्थीको भीड लाग्ने गरेको मन्दिरका पुजारी बच्चुराम जङगमले जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणको गुरुयोजना
गुम्बज शैलीको डोलेश्वर मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो । मल्लकालीन दुईतले प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले भत्काएपछि गुम्बज शैलीमा मन्दिर निर्माण गरिएको थियो । भूकम्पले गुम्बज शैलीका मन्दिर भत्काएपछि डोलेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिले पुनः मल्लकालीन शैलीमै पुनःनिर्माण गर्ने गरी गुरुयोजना बनाएको थियो । मन्दिर पुनःनिर्माण गर्न सङ्खुवासभा निवासी कृष्णगोपाल श्रेष्ठले रु पाँच करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । दुईपटक गरेर दुई करोडभन्दा बढी रकम दिएर दाता श्रेष्ठ प्रतिबद्धताबाट पछि हटेपछि डोलेश्वर महादेव मन्दिर पुनःनिर्माणमा अन्य दाताको खोजी भइरहेको छ ।

मल्लकालीन शैलीमा मन्दिरको पुनःनिर्माण गर्ने भनिए पनि सिमेन्ट, डण्डीलगायत कङ्क्रिट प्रयोग गरेर मन्दिर र सत्तललगायतको संरचना बनाएको भन्दै मन्दिर पुनःनिर्माणका लागि सरकारले विनियोजन गरेको पाँच करोडको बजेटसमेत पुरातत्व विभागले रोकेको थियो । मन्दिर निर्माणको गुरुयोजनामा मन्दिरमा काठ ठोकेर कलात्मक बनाउने छानोमा तामा तथा गजुरमा सुनको जलप लगाउने तथा मन्दिरका चार दिशाका भित्री र बाहिरी गरी आठ वटा ढोकामा पित्तलमाथि चाँदीले माड्ने, मन्दिर परिसरमा चौबन्दी सत्तल, धर्मशाला, पुजारी घर, तलुसीमठ तथा पारिजात बगैँचा निर्माण उल्लेख गरिएको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

गुरुयोजनामा डोलेश्वर महादेव मन्दिर परिसरमा मुख्य मन्दिरसँगै विष्णु, गणेश, कुमार, देवी, कृष्ण, राम, सरस्वती, नारायण, श्रीस्वस्थानी, हनुमानलगायत देवदेवीका मन्दिर, धर्मशाला, कुटी, यज्ञशाला, तुलसीमठ, पूजा सामग्री कक्ष, शौचालयलगायत ३९ वटा भवन तथा भौतिक पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको उहाँले बताउनुभयो । त्यसमध्येमा धेरै संरचना बनिसकेका छन् भने गुरुयोजनामा सबै समेटिएका संरचना निर्माणका लागि भने रकमको अभाव भएकाले दाताको खोजी भइरहेको समितिका सहकोषाध्यक्ष दिलीप केसीले जानकारी दिनुभयो ।

सुरुमा रु ५७ करोडको गुरुयोजना बने पनि यसको लागत बढ्दै जाँदा रु ७७ करोडभन्दा माथि पुगिसकेको जानकारी दिँदै उहाँले मन्दिरका विभिन्न संरचना निर्माण गर्न रु एक हजारदेखि रु तीन करोडसम्म दाताले प्रदान गरेको बताउनुभयो । मूल मन्दिरमा तामाको छानो हाल्ने काम सम्पन्न भइसकेको छ । मन्दिरको चौघेरा सत्तल निर्माण भइसकेको छ । धर्मशाला एवं समितिका सचिवालय भवन निर्माण भएको छ । धर्मशाला, ६४ शिवलिङ्ग, बासाहा, हनुमान मन्दिर, चौघेरा सत्तल, ढुङ्गे धारालगायतका संरचना निर्माण भइसकेका छन् ।

मन्दिरबारे यस्तो भन्छन् इतिहासविद्
डोलेश्वर महादेव मन्दिर लिच्छवीकालभन्दा अगाडि नै उत्पत्ति भएको बताइन्छ । पुरातत्व एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो मन्दिर उत्तर लिच्छविकालकै हुनुपर्ने बताउनुहुन्छ ।

उहाँले डोलेश्वरलाई पुनःनिर्माण र घोषणाको नाममा यसको वास्तविक पहिचाननै मेट्न खोजेको भन्दै आपत्ति जनाउनुभयो । इतिहासविद् डा श्रेष्ठले भन्नुभयो, “डोलेश्वर महादेवको वास्तविक नाम सिपारे महाद्यो हो, यो मन्दिर वरिपरि पहाडबीचमा डोल भएकाले यसको नाम डोलेश्वर रहनगएको हो, यसको अर्को नाम विमलेश्वर महादेव पनि हो । तर अहिले प्रचार गरिए जस्तो केदारनाथको शिर भाग हो कि होइन भन्ने तथ्यसहितको प्रमाण अहिलेसम्म भेटिएको छैन, यदि हो भने यसलाई पुष्टि गर्ने प्रमाण र आधार खोजेर सार्वजनिक गर्नु आवश्यक छ ।”

डोलेश्वरलाई केदारनाथको शिर भनेर पशुपतिनाथसँग प्रतिस्पर्धा गर्न खोजेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “डोलेश्वर केदारनाथको शिर हो भने पशुपतिनाथ के हो ? मन्दिरको पुनःनिर्माण गर्दासमेत पशुपतिनाथको नक्कल गर्न खोजिएको छ, पशुपतिनाथसँग प्रतिस्पर्धा गर्न खोज्नु दुःखद हो ।”

इतिहासविद् डा श्रेष्ठले डोलेश्वरलाई पुनःनिर्माण र पशुपतिनाथसँग प्रतिस्पर्धा गर्ने नाममा इतिहास मेट्ने काम भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको वास्तविक पहिचान मेटियो, मन्दिर आधुनिकतामा आयो, त्यस मन्दिरमा रहेको धर्म मल्लको शिलालेख खै ?, त्यो शिलालेख अहिले गायब छ, मन्दिरमा रहेको भूपतिन्त्र मल्लको शिलालेख खै ? त्यहाँको नारायण मन्दिर पनि हरायो, यो साह्रै दुःखद पक्ष हो ।”

मन्दिरको प्रचारप्रसारसंँगै अहिले भक्तजन र पर्यटकको ओइरो लाग्ने गरेको सूर्यविनायक नपा–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयो । डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणा गरेपछि यस क्षेत्रको विकास तीव्रगतिमा भएको उहाँले बताउनुभयो । सूर्यविनायकबाट र जगातीबाट डोलेश्वर जाने दुई वटा सडक कालोपत्र भएको छ र यहाँबाट आशापुरी हँुदै साँगा निस्कने सडक धमाधम कालोपत्र गर्ने क्रम जारी छ ।

सार्वजनिक यातायातका साधन नियमित सञ्चालनमा छन् भने व्यापार व्यवसाय, होटल खुलेका छन् । जग्गाको मूल्य यो अन्तरालमा यस क्षेत्रमा निकै आकाशिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर