झाँक्रीले भनिन् -पिता समानका कमरेड नेपालको साथ छोड्दिन, भ्रममा नपर्नुहोस् — OSNepal

झाँक्रीले भनिन् -पिता समानका कमरेड नेपालको साथ छोड्दिन, भ्रममा नपर्नुहोस्

LC (KTM) August 18, 2022 0

अध्यक्ष नेपालको हात समातेर निर्वाचन आयोग पुगेको आजकै दिन भएको भन्दै झाँक्रीले भनिन् -पिता समानका कमरेड नेपालको साथ छोड्दिन, भ्रममा नपर्नुहोस् ।

काठमाडौं २ भदौ । नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफुले पार्टी छाड्न लागेको हल्लामा सत्यता नभएको भन्दै खण्डन गरेकी छन् ।

‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार र विचार आएको देख्छु, यो कुरा गलत हो,देशैभरिका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनसमेत अनुरोध गर्न चाहन्छु ।’ झाँक्रीले लेखेकी छन् ।

आजकै दिन आफ्नो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत भनेकी छन् , ‘मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो,हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो ।’

संविधान बचाउन, सात दशक लामो संघर्षको उपलब्धीको रक्षा गर्न, वर्तमान राजनीतिक प्रणाली बचाउन र नेपालको राजनीतिलाई जनचाहना अनुसार सञ्चालन गर्न आफूहरुले एमालेसँग विद्रोह गरेको भन्दै झाँक्रीले थप लेखेकी छन्,’ उपलब्धीको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय आएको छ , आसन्न निर्वाचन गठबन्धनमै अगाडि बढ्ने संकल्प आफूहरुको रहेको छ ‘ ।

गठबन्धन आजको आवश्यकता भएको औंल्याएकी उनले संविधानलाई गतिदिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य रहेको बताएकी छन् ।

सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु अर्को आवश्यकता रहेको उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर