व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल — OSNepal

व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

LC (KTM) August 19, 2022 0

दमौली-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित शिवपञ्चायन मन्दिर क्षेत्रमा आज आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक महत्व बोकेको व्यास र पराशर क्षेत्रको एकीकृत विकास गर्नुपर्छ भन्नुभयो ।

व्यास पराशर क्षेत्रलाई विश्वभरका हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्रबिन्दु बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । “विश्वभरका धार्मिक पर्यटकलाई व्यास र पराशर क्षेत्र आउने वातावरण बनाउनेतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यस्थल बनाउन आफूले पहल गरिरहेको बताउनुभयो । त्यस्तै मानुङकोट, छाब्दीबाराही, तनहुँ कालिकालगायतलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरी समग्र तनहुँको विकास अभियान सञ्चालन गर्नेतर्फ ध्यान दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वृक्षरोपण गर्नुभएको थियो । सो अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर