भोजपुरका किसानको रोजाइँमा बहुउयोगी जडीबुटी सतुवा खेती — OSNepal

भोजपुरका किसानको रोजाइँमा बहुउयोगी जडीबुटी सतुवा खेती

LC (KTM) August 19, 2022 0

भोजपुर- बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिबद्र्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिबद्र्धक हुने व्यवसायीले बताउने गरेका छन् ।

केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि २० सम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् । अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताउनुभयो । “सतुवा खेती आम्दानीको राम्रो स्रोतको रुपमा स्थापित भएको छ”, उहाँले भन्नुभयो, “विगतमा मूल्य धेरै राम्रो थियो । अहिले मूल्यमा केही कमी आएको छ तर किसानको यसप्रतिको आकर्षण घटेको छैन ।”

केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा १० मनसम्म सङ्कलन गरेर बिक्री गरेको किसान शेर्पाले बताउनुभयो । यहाँका सबै ३७ घरपरिवारले सतुवाको खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो पाँच रोपनी क्षेत्रमा सतुवाको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पाँच रोपनी क्षेत्रमा खेती गरिरहेको छु । मेरो फर्ममा अहिले करिब दुई मनको हारहारीमा उत्पादन भएको छ । यसलाई एक मुष्ट बिक्री गर्ने हो भने पाँचदेखि छ लाखसम्म आम्दानी हुन्छ ।”

घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसान बताउँछन् ।
त्यस्तै यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने किसानको भनाइ छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको यहाँस्थित तिम्माका किसान मानबहादुर राईले बताउनभयो । उहाँले भन्नुभयो, “मैले यसको १० वर्षबाट व्यावसायिक खेती गरिरहेको छु । खासमा धेरै ठाउँमा प्रायः एकदेखि दुई वटासम्म डाँठ आएको हुन्छ तर मेरो फर्ममा लगाएको सुतवामा १६ सम्ममा डाँठ पलाएको छ । मैले दुई सय ग्रामसम्मको सुकेको सुतवा फलाएको छु । सायदै यस्तो ठूलो सुतवा कम फलेको पाइन्छ ।”

राम्रो ढङ्गले खेती गर्नसके थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने किसान खड्गबहादुर राउतको भनाइ छ । आफूले दुई रोपनी क्षेत्रमा खेती गरिरहेको भए पनि सतुवाको गाँनो, बिरुवाबाट बिक्री गरेर वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी लिने गरेको किसान राउतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सतुवालाई राम्रो ढङ्गले स्याहार गरेर खेती गर्नसके जमिन पनि खास धेरै चाहिँदैन । थोरै जमिन भए पनि आम्दानी राम्रो हुन्छ ।” तर पछिल्लो समय सतुवामा ढुसी लाग्नेलगायतको रोग देखिन थालेको किसान राउतको भनाइ छ । गानोमा समस्या नभए पनि बोट भने ढुसीले मर्ने गरेको उहाँको भनाइ छ ।

बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमिनमुनिको गानो अदुवाजस्तै देखिन्छ । सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको डाँठलाई तरकारीको रुपमा खादा मिठो हुने किसानको भनाइ छ ।

सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर बिक्रीका लागि भारत र चीन जाने व्यवसायी बताउँछन् । सरकारले बजारीकरणमा ध्यान दिए सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक गुणराज राउतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । यसको बजार मूल्य अन्य जडीबुटीको तुलनामा राम्रो छ तर पछिल्लो समयमा आएर मूल्यमा केही गिरावट आएको छ । त्यही पनि अन्य बालीको तुलनामा बिरुवा तथा गानाको मूल्य धेरै राम्रो छ ।”

त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय कृषक एकराज विष्टले पनि व्यावसायिकरुपमा सतुवाको खेती गरी रहेको बताउनभयो । किसान विष्टले करिब दुई रोपनी क्षेत्रमा खेती विस्तार गरेको जानकारी दिनुभयो । सुतवाबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । “हाम्रो क्षेत्रमा सतुवा खेतीमा धैरै साथीहरु आबद्ध छन्”, उहाँले भन्नुभयो, “विगतका वर्षको तुलनमा मूल्यमा भने गिरावट आएको छ । खेतीमा हामी किसान उत्साहित भएर लागेका छौँ । मूल्य सुधार होला भन्ने आशा छ ।”

सुतवा टेम्केमैयुङ गाउँपालिकाको वडा नं १ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं–१० साम्पाङ, वडा नं १३ बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायतमा तीन सय बढी कृषकले व्यावसायिक खेती गर्दै आएका छन् ।

जिल्लामा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटी हुने गरेको छ । धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न गाह्रो भएको तथा सोसम्बन्धी ज्ञानको अभावले त्यस्ता प्रजातिका जडीबुटीको खेती गर्न समस्या हुने गरेको किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर