अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइदै,तयारी पूरा — OSNepal

अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइदै,तयारी पूरा

LC (KTM) August 20, 2022 0

पाल्पा- पाल्पामा दुई शताब्दीदेखि ऐतिहासिक भगवती जात्रा निरन्तर निकाल्ने गरिएको छ । नेपालले अङ्ग्रेजी सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मनाइने उक्त भगवती जात्राको तयारी पूरा भएको छ ।

श्रीकृष्णा जन्माष्टमी पर्वको भोलिपल्ट मनाइँदै आएको जात्रा यस वर्ष आज तानसेन नगरपालिका–३ को भगवती टोलस्थित भगवतीको मन्दिरबाट निकालिएको छ । रणउजेश्वरी भगवती गुणी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयका अनुसार जात्रामा स्थानीयको उल्लेख्य सहभागिता छ । पछिल्ला दुई वर्ष कोभिड–१९ को प्रभावले औपचारिकताका लागि मन्दिर परिसरमा रथ घुमाएर जात्रा निकालिन्थ्यो । यस वर्ष भने परम्परादेखि चलिआएका विधिअनुसार तानसेन नगर परिक्रमा गराएर जात्रा निकालिएको छ । यस वर्ष निकालिएको जात्रा २०४औँ हो ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिर सिं थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जीतगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तररुपमा विजयोत्सव मनाइँदै आइएको छ । भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति (शुक्रबार) नेपाली सेनाले सलामी दिँदै रथ पूजा र भजनकृतन गरिएको थियो ।

घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा वुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिं थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए । दुई पटकसम्म बुटवल जीतगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि थापाले १८७२ देखी १८७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ ।

पुरानो र प्रख्यात जात्रा हेर्न पाल्पा, गुल्मी, बुटवल, काठमाडौँलगायत स्थानबाट दर्शक आउने गरेका छन् । इतिहाससँंग जोडिएको हँुदा उक्त जात्रालाई दर्शकले विशेष महत्वका रुपमा लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर