बलेवाको प्रसिद्ध भैरवस्थान मन्दिरमा पहिलो पटक हरेलो मेला सुरु — OSNepal

बलेवाको प्रसिद्ध भैरवस्थान मन्दिरमा पहिलो पटक हरेलो मेला सुरु

LC (KTM) August 22, 2022 0

बलेवा-बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि पहिलो पटक आयोजना गरिएको हरेलो मेला आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा मेला सुरु भएको हो ।

भैरवस्थान मन्दिर पुनःनिर्माण तथा हरेलो मेला व्यवस्थापन उपभोक्ता समितिले मेलाको आयोजना गरेको हो । मेलाको मूल समारोह मङ्गलबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
“मङ्गलबार र शनिबार मात्रै पूजा हुने मन्दिरमा सोमबारसमेत पूजाको प्रबन्ध मिलाएका छौँ, मेला हेर्नकै लागि देशभरबाट भक्तजन आउनुभएको छ”, समिति अध्यक्ष राजु हमालले भन्नुभयो, “यहाँ स्थानीय उत्पादनको प्रदर्शन, स्थानीय कला तथा संकृतिको सवद्र्धन हुनेगरी मेलाका कार्यक्रम तय भएका छन् ।”

आज स्थानीय पञ्चेबाजा र भजनको विशेष प्रस्तुति रहेको हमालले बताउनुभयो । तीज गीत प्रतियोगितासमेत आजदेखि नै सुरु हुने आयोजकले जनाएको छ । मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताउनुभयो ।
“पहिलो पटक आयोजना भएको मेलाले भैरवस्थान चिनाउनेछ”, नगर उपप्रमुख राजु खड्काले भन्नुभयो, “हरेलोमा यहाँ भक्तजनको निकै भीड लाग्छ, त्यसको व्यवस्थापनका लागिसमेत मेला सहयोगी हुनेछ ।”

मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीराफट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो ।

यस पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्मा बताउनुहुन्छ । बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ ।

कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी नानु बुढाथोकीले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो ।

कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँची र काठमाडौँ तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर