काठमाडौं ७ भदौ । नेकपा एमालेले वाम गठवन्धन नगर्ने भएको छ । वाम गठवन्धन नगरी एकढिक्का भएर चुनावको सामना गर्ने भन्दै एमालेले गठबन्धनको नाममा पार्टीभित्र फरक-फरक धारणा आउन नहुने बताएको छ । मंगलबार बसेको
स्थायी कमिटीको बैठकमा नेता घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्नेमा जोड दिएपनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको हो ।
बैठकमा स्थायी कमिटिका सदस्यले भनेका थिए,‘प्रचण्ड र माधव नेपालहरु कांग्रेस छाड्नै नसक्नेगरी गठबन्धनमा बसेका छन् । उनीहरु एमालेकोविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका छन् यस्तो बेला हामीले वामपन्थी गठबन्धन भन्नुको अर्थ छैन । त्यहाँभित्रका नेता कार्यकर्तालाई आफूतिर ल्याउने हो’।
त्यसैगरी बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईले पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने भन्दै पार्टी पंक्तिलाई अन्योल हुने अभिव्यक्ति दिन नहुने बताए ।