बर्दिबास अस्पतालमा आइसियू सेवा सञ्चालन हुने — OSNepal

बर्दिबास अस्पतालमा आइसियू सेवा सञ्चालन हुने

LC (KTM) August 25, 2022 0

महोत्तरी-महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो ।

पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । “हामीले गत साउनमै स्वास्थ्य सेवा विभागबाट भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण पायौँ, भर्खरै धुलिखेल अस्पतालसँग भएको सहकार्यले दक्षजनशक्ति पाइने भएको छ” बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले भन्नुभयो,“अब अस्पतालमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष सञ्चालन हुनेछ ।”

बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच बर्षे आयोजनामा सम्झौता समेत भएको छ । ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा नगर प्रमुख क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा विराज कर्माचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतिकरण, प्राविधिक सहयोग, जनशक्तिलार्ई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै बर्दिबास अस्पतालमा (आईसियू) सञ्चालनका लागि तत्काल धुलिखेल अस्पतालले दक्ष चिकित्सक र आवश्यक जनशक्ति दिने र आपसी सहकार्य बढाइने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर