च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान,वार्षिक सात लाख नाफा — OSNepal

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान,वार्षिक सात लाख नाफा

LC (KTM) August 29, 2022 0

चौतारा, १३ भदौ- यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गर्नुभएको छ । यसबाट मनग्य आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गर्नुभएका राउतले सात जनालाई रोजगारी दिनुभएको छ ।

उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउनुहुन्छ । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको राउत बताउनुहुन्छ । राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौँमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् ।

त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गर्नुभएका चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रङ्गको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग रु सात लाख लगानीमा तीनसय मुढाबाट व्यवसाय थाल्नुभएको उहाँको अहिले एक हजार ५०० मुढा पुगेको छ । मुढामा बीउ राखेको नौ महिनापछि मात्रै उत्पादन हुने गरेकोले तीन सय मुढाबाट मात्रै उत्पादन भएको उहाँ बताउनुहुन्छ ।

उहाँकोमा महिनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महिनासम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन नौ महिनासम्म लाग्छ ।

प्रति केजी पाँच सय देखि आठ सयसम्म बिक्री हुने गरेको उक्त च्याउबाट गतसाल साँढे दुई लाख आम्दानी भएको उहाँले बताउनुभयो । यसवर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चार लाखसम्म आम्दानी हुने उहाँको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यबर्दक सिताके च्याउ खरिद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् ।

उहाँका अनुसार यो च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुन्छ । उत्तिस भन्दा कटुसको मुढामा यो फस्टाउछ । तर मुढाको अभाव भएकोे उहाँले बताउनुभयो । आफ्नै लगानीबाट सुरु गर्नुभएको सो खेतीमा उहाँलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा सीता श्रेष्ठले तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँनुहुन्छ । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक दुई लाख कमाउनुहुन्छ । चौतारा साँगाचोकगढी नगरपालिका ४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । विसं २०७५ मा वसन्त कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएका व्यवसायी भीमसेन खड्काका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ नपाएकाले काठमाडाँैंको विभिन्न होटलसम्म पु¥याउनुपर्ने झन्झट व्यहोर्नु परेको छ ।

उहाँले फार्ममा विभिन्न जातका माछा, सिताके च्याउ, भँैसीपालनदेखि स्थानीय तरकारी तथा बेर्नाहरु उत्पादन गर्दै आउनुभएको छ । स्थायी शिक्षकको जागिर छोडेर कृषि फार्मतिर आकर्षित हुनुभएका उहाँका बुबा झपडबहादुर पनि जिल्लाको उत्कृष्ट किसान हुनुहुन्थ्यो । तीन जनाले एक करोडको लागतमा सञ्चालनमा ल्याएको फार्मलाई पशुपालनको लागि प्रदेश सरकारबाट १० लाख तथा स्थानीय सरकारबाट माछापालनलाई ५० हजार अनुदान पाएको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर