कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा आराधना गरे — OSNepal

कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा आराधना गरे

LC (KTM) September 04, 2022 0

काठमाडौँ-प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा आराधना गरेका छन् । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको कागेश्वरी धाममा लाखौँ भक्तजन जम्मा भएर पूजाआराधना गरेका हुन् । कागेश्वरी धाममा पूजा आराधना गर्न बिहानैदेखि मन्दिर क्षेत्रमा भक्तजनको भीड लागेको थियो ।

आजको दिनमा कागेश्वरी महादेव मन्दिरमा गई पूजाआराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लागेको हो । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिइएको छ ।

मन्दिर जान यातायात सहज बनाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि तीनदिने मेला नगरी एक दिन पूजाआराधना गर्ने व्यवस्था मिलाइएको छ । आज पूजाआराधना गर्न काठमाडौँ उपत्यका र यस वरपरका जिल्लाबाटसमेत लाखौँ भक्तजन आएको उहाँले बताउनुभयो ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति पनि निर्माण भएको छ ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरकोसमेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।
नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनकोसमेत प्रदर्शन गरिन्छ । काग तिहारका अवसरमा पनि यहाँ भक्तजनको भीड लाग्ने गर्छ ।

कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लागेको थियो । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी आएको मेला आयोजक समितिले जनाएको छ ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजाआराधना गर्न भक्तजन पुगेको जनाइएको छ । यमदूतका रुपमा काम गर्ने कागले सन्देशबाहकका रुपमा काम गर्छ । यसले शुभ सन्देश ल्याओस् भनेरसमेत कागरुपी महादेवको आराधना गर्ने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर