माथिल्लो कर्णालीका जिल्ला अनुगमनमा प्रहरी नायब महानिरीक्षक पोखरेल — OSNepal

माथिल्लो कर्णालीका जिल्ला अनुगमनमा प्रहरी नायब महानिरीक्षक पोखरेल

LC (KTM) September 07, 2022 0

कर्णाली-कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले माथिल्लो कर्णालीका जिल्ला अनुगमन गर्नुभएको छ । माथिल्लो कर्णालीका जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षास्थलको वस्तुस्थितिबारे बुझ्न प्रहरी नायब महानिरीक्षक पोखरेल सोमबार कालीकोट जानुभएको थियो ।

मङ्गलबार जुम्ला पुगेर त्यहाँको वस्तुस्थितिको अवलोकन गरिएको प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो । “जुम्लामा जिल्ला प्रहरी कार्यालयको भौतिक संरचना छैन, निर्माणाधीन संरचनाका विषयमा मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । आज मुद्दा मिल्यो भन्ने सुनेको छु, तर बाटोमा भएकोले बुझ्न पाएको छैन । अब निर्माण कार्य पनि सुरु होला”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार भौतिक संरचना नभए पनि टहरामा बसेर प्रहरीले नागरिकलाई सेवा प्रवाह गर्ने कार्यमा कुनै कमी नगरेको बताउनुभयो । जुम्लालगायतका जिल्लामा निर्माणाधीन संरचना प्रदेश सरकारको बजेटबाट बनेको र अदालतको फैसलापछि काम सुरु हुने जनाउँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले पहाडी जिल्लामा सुविधायुक्त प्रहरी संरचना नभएको बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिक आइरहेकाले प्रहरी प्रधान कार्यालयबाट आएको निर्देशन सुरक्षाको तल्लो तहसम्म सम्प्रेषण गर्ने ध्येयले त्यहाँ पुगिएको उहाँले जनाउनुभयो ।

दुवै जिल्लाका प्रहरी कार्यालय, त्यहाँको भौतिक संरचना, सेवा प्रवाह र सुरक्षा तथा जनशक्ति अवस्था बुझेर उहाँ सुर्खेत फर्कनुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरी नायब महानिरीक्षक पोखरेलले यसअघि सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेख अनुगमन गर्नुभएको र पछिल्लो चरणमा डोल्पा, हुम्ला र मुगु अनुगमन गर्ने तालिका रहेको जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर