ललितपुरको अल्का अस्पतालमा ६ वर्षदेखि मालिकको खोजीमा गेट कुरेर बसिरहेको छ यो कुकुर — OSNepal

ललितपुरको अल्का अस्पतालमा ६ वर्षदेखि मालिकको खोजीमा गेट कुरेर बसिरहेको छ यो कुकुर

LC (KTM) September 16, 2022 0

काठमाडौँ  :

छ वर्षअघि आफ्ना बिरामी मालिकसँग काली नाम गरेको सानो कुकुर सँगै ललितपुरको अल्का अस्पताल जान्छ । ६ वर्ष अघि सानो अवस्थामा अस्पताल पुगेको कुकुर अहिले ठूलो भइसक्यो । तर उसलाई आफ्ना मालिकको निधन भएको पत्तो छैन ।

मालिक फर्किने आसमा अस्पतालमै बसिरहेको काली अहिले पनि मालिकसँगै घर फर्किने आशामा छे । रौं चिल्ला र सुकिला भएकी काली अहिले निराश र दुखी देखिने गरेको अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसी बताउँछन् ।

अस्पतालमा विगत ६ ७ वर्षदेखि काम गर्दै आएका कर्मचारीहरु सरिता, ज्ञानीमायाले कालीलाई निकै माया गर्छन् । काली दिनभर क्याबिनबाहिर बस्छे। बेलुकी ७ बजेपछि क्याबिनमा जान्छे र त्यहीँ सुत्छे। अस्पतालका कर्मचारीहरुका अनुसार कालीसँग त्यहाँका स्टाफहरुको छुट्टै लगाव छ । कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएर खाना माग्ने गरेको अवस्था देख्दा निकै माया लाग्ने कर्मचारी बताउँछन् ।

नर्मल वार्डबाट क्याबिन हुँदै पछि आइसियुमा सारिएका कालीले पत्तै पाइन । अस्पतालका सुरक्षाकर्मी कुमार लामा भन्छन् अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्ने र ततकाले अस्पताल नै फर्किने कालीको दैनिकी जस्तै बनेको छ ।

ललितपुर महानगरपालिकाले कालीको स्थायी बन्ध्याकरण गरिदिएको छ। त्यसअघि उसले एकपटक बच्चा जन्माइसकेकी छे र कालीको बच्चा पनि अस्पताल वरीपर नै देखिन्छे । काली अस्पतालबाहिर निस्किँदा छिरबिरे सेतो रङको आफ्नै बच्चासँग खेलेको देख्दा खुशी लाग्ने अस्पतालका कर्मचारीहरु बताउँछन् ।

तर कालीको बच्चालाई अस्पतालले भित्र जाने छुट दिएको छैन । तर काली भने अल्काको परिवार जस्तै बनेकी छे । क्यान्टिनका मान्छेले पनि उसका लागि खाना छुट्टाइदिन्छन्। जुन दृश्य देख्ने र कालीको कथा सुन्ने, बुझ्ने जोकोहीका आँखा रसाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर