गरियो विश्वकर्मा पूजा, मनाइयो वास्तु दिवस — OSNepal

गरियो विश्वकर्मा पूजा, मनाइयो वास्तु दिवस

LC (KTM) September 17, 2022 0

काठमाडौँ-कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाइन्छ । बालुवा वा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तुशास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।

वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर