नदीका मुहानस्थलमा बाबा विश्वकर्माको प्रतिमा सेलाउने क्रम सुरु – OSNepal

नदीका मुहानस्थलमा बाबा विश्वकर्माको प्रतिमा सेलाउने क्रम सुरु

LC (KTM) September 19, 2022 0

असोज १ गते बाबा विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । आश्विन सङ्क्रान्तिका दिन असोज १ गते कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका थिए । त्यसको भोलिपल्ट बेलुकीदेखि नदीको मुहान क्षेत्रका तीर्थस्थलको पवित्र जलमा लगी बाबा विश्वकर्माको प्रतिमा सेलाउन थालिएको हो ।

असोज १ गते विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरिएको थियो । बालुवाबाट बनाइएको मूर्ति नदीको मुहान क्षेत्रका पवित्र तीर्थस्थलमा सेलाइन्छ । तस्वीरलाई भने नियमितरुपमा पूजा आराधना गर्ने विधि छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल, रुद्रमती र विष्णुमती नदीको मुहानस्थल बूढानीलकण्ठ एवं मनोहरा नदीको मुहानस्थल साँखु क्षेत्रमा सेलाउन थालिएको हो । विश्वकर्माको प्रतिमालाई विभिन्न नदीको मुहानस्थित पवित्र तीर्थस्थल वा अन्य शुद्ध जल भएको स्थलमा लगी सेलाउने गरिन्छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा ‘प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालीगढले असोज १ गते भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यसरी पूजा गरिएको प्रतिमालाई पूजा सकिएको २४ घण्टापछि सेलाउने क्रम सुरु गरिन्छ । तीन दिनसम्म विश्वकर्माको प्रतिमा सेलाएर सक्ने विधि रहेको छ ।-

Leave a Reply

Your email address will not be published.

भर्खर