प्रकृतिको अनुपम उपहार ‘खप्तड’,के–के पाइन्छ खप्तडमा ? – OSNepal

प्रकृतिको अनुपम उपहार ‘खप्तड’,के–के पाइन्छ खप्तडमा ?

LC (KTM) September 22, 2022 0

बझाङ- सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद र ग्रीष्म ऋतुमा रङ्गीविरङ्गी फूलले छोपेको हुन्छ ।

वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरूको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले हुनसक्छ, पहिलोपटक खप्तड भ्रमण गर्नेहरू स्वर्गमा पुगेको टिप्पणी गर्छन् । खप्तडका विभिन्न स्थानले आ–आफ्नै महत्व बोकेको छ । जसको पौराणिकता पनि यथार्थ जस्तै झल्किन्छ ।खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनका दुःख, पीडा केही क्षणका लागि भए पनि बिर्सिन्छन् ।

खप्तडको ऐतिहासिकता
पौराणिककालमा ऋषिमुनिहरूले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रूपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंवदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरूले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ ।

खप्तडमा रहेको केदार ढुङ्गा पनि पाण्डप भाइ भीमले भारतको केदारनाथबाट गादो (शरीरमा लगाएको अगाडिपट्टिको भाग)मा बोकेर ल्याएको स्थानीयहरू बताउँछन् । त्रिवेणी पाटनमा केदारढुङ्गा राखेपछि त्यो ठाउँमा पानीको मूल फुटेको किंवदन्ती छ । यसरी नै खप्तडमा रहेका चर्चित स्थान सीतापाइला, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, नागढुङ्गा, सहस्त्रलिङ्ग, खप्तड दह, त्रिवेणी, डाँफेकोट, बलेमेला, माइकाथान, सुकी दहलगायतका चर्चित ठाउँहरूको छुट्टै पौराणिकता रहेको छ । त्योमध्ये केही स्थानमा भने स्थानीयले शिवको रूपमा पूजाआजा गर्छन् ।

राज्यको नजरपछि प्रचार
विसं २०४२ मा राष्ट्रिय निकुञ्ज स्थापना भए पनि खप्तडको प्रचार भने ७५ वर्षअघि नै भइरहेको थियो । जतिबेला खप्तड बाबा (श्री १००८ ब्रह्मविद् परमहंस योगी सच्चिदानन्द सरस्वती) तपस्या गर्न खप्तड पुग्नुभयो, त्यसपछि खप्तडको प्रचार हुँदै गयो ।

विसं २००२ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको अगुवाइमा खप्तडका जङ्गलमा खप्तड बाबासँगै स्थानीय तपस्या गर्न पुगेका थिए । पछि खप्तड बाबामात्रै तपस्यामा समाहित भए । त्यसपछि खप्तड देवभूमिका रूपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार–प्रसार हुँदै गएपछि खप्तडको महिमा बढ्दै गएको हो ।

समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र दुई सय २५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जङ्गली जनावर र पक्षीको सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज स्थापना भएको पाँच वर्षपछि विसं २०४७ मा नेपाली सेनाको ब्यारेक स्थापना गरियो ।

के–के पाइन्छ खप्तडमा ?बझाङ, बाजुरा, अछाम र डोटीको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा झुलेसल्लो, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, ठिगेसल्लो, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् भने कालकुट, पाँचऔंले, नीरमसी, सतुवा, वायुजडी, हत्वाजडी, गँदाल्नो, वनप्याजजस्ता सयौँ प्रकारका जडीबुटी पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् ।

तथ्याङ्कमा हेर्दा खप्तडमा वन क्षेत्र १९९.७३, घाँसेमैदान १३.४७, कृषिभूमि ९ र झाडी बुट्यान २.८ वर्गकिमीमा फैलिएको छ । खप्तडमा ३८२ प्रकारका रूख, वनस्पति तथा जडीबुटी पाइन्छन् । जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा आठ र उन्यु १९ प्रजातिको भएको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयको तथ्याङ्कअनुसार १२ वटा गुफा भएको खप्तड क्षेत्रमा दुई सय ८७ प्रजातिका पक्षी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् ।

संस्कृतिको सङ्गम ः गङ्गा दशहरा
हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गङ्गा दशहरा मेलामा हजारौँ तीर्थालु खप्तड पुग्ने गर्छन् । गङ्गा दशहराको दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकाले गङ्गा दशहरा मेला खप्तडको प्रमुख आकर्षण हो ।

मेला दुई दिनसम्म चल्ने भए पनि पछिल्लो समय विभिन्न जिल्लाले सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगिता गर्ने हुँदा दशहरा हप्ता दिनसम्म पनि चल्ने गर्छ । दशहराको पहिलो दिन देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने अवसर पाउँछन् ।

कसरी पुगिन्छ खप्तड ?
राजधानी काठमाडौँबाट करिब १५ घण्टाको समयमा बसबाट कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जान बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेशद्वार बनाइएको छ । त्यसमा पनि खप्तड पुग्न सबैभन्दा नजिक रहेको सडक सञ्जाल बझाङ छान्नाको मेल्तडी हो । मेल्तडीबाट खप्तड जान अढाई घण्टा समयमात्रै लाग्छ ।

खप्तडछान्ना गाउँपालिकाका सबै वडाबाट पनि खप्तड प्रवेश गर्न धेरै समय लाग्दैन । मध्यवर्ती क्षेत्रका बासिन्दाको भने चरिचराउन गर्ने लेक नै हो खप्तड । बझाङको खप्तडछान्ना र थलाराका विभिन्न गाउँ, बाजुरा (साविकको काँडा गाविस), अछाम (साविकको खप्तड गाविस) र डोटीको सायल, झिग्राना, काँडामाडौँबाट खप्तड प्रवेश गर्न सजिलो पर्छ ।

खर्च, समय र आवश्यक सामग्री कति ?

काठमाडौँबाट खप्तड पुग्न, घुम्न र फर्कन ठूलो खर्च लाग्दैन । काठमाडौँबाट हवाइजहाजमा धनगढी पुग्न एक घण्टामा छ–आठ हजारसम्मको टिकट मूल्य लाग्छ । त्यस्तै धनगढी–बझाङ हवाई टिकट रु पाँच हजार तोकिएको छ । हवाई यात्रामा करिब १२ हजार खर्च हुन्छ बझाङको देवल विमानस्थल पुग्न । त्यसै दिन खप्तड पुग्न सकिन्छ । विमानस्थलबाट खप्तड पुग्नसम्म बाटोमा खाना, खाजामा बढीमा रु दुई हजार खर्च हुन्छ । हवाईयात्रा गर्दा काठमाडौँबाट बझाङ पुग्न १४ हजार खर्च हुन्छ ।

बसमा जाँदा राजधानीबाट दुई हजार दुई सयमा १५ घण्टापछि कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जानका लागि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म एक हजार पाँच सयसम्म गाडी भाडा लाग्छ । बेलुका अत्तरियाबाट हिँड्दा भोलिपल्ट बिहान बझाङको तमैल बजार पुगिन्छ । तमैलबाट दिउँसो १२ बजेसम्ममा खप्तडछान्नाको मेल्तडी पुगिन्छ । मेल्तडी खाना÷खाजा खाएर केहीबेर आराम गरेर हिँडेपछि दिउँसो २–३ बजे खप्तड पाटन पुगिन्छ । बुकिङ गाडीमा भने अत्तरियाबाट एकै दिनमा खप्तडछान्ना र भोलिपल्ट बिहानै खप्तडमा घामझुल्कै (बिहान घामका किरण पर्नु) पुग्ने सकिन्छ ।

डोटीबाट खप्तड जाँदा अत्तरियाबाट बुकिङ गाडीमा १० घण्टामा झिग्राना बजार पुगिन्छ । त्यहाँ खान बस्नका लागि राम्रो सुविधा भएका खप्तड होमस्टेलगायतका होटल छन् । सार्वजनिक यातायातमा जान अत्तरियाबाट झिग्रानासम्म रु एक हजार एक सयसम्म गाडीभाडा लाग्छ । हवाईजहाजमा कैलाली–दिपायल रु पाँच हजार लाग्छ ।काठमाडौँबाट खप्तड गएर काठमाडौँ फर्किँदा एक साताको भ्रमण अवधिमा हवाईजहाज भएर जाँदा न्यूनतम रु ४० हजार खर्च लाग्छ भने गाडीबाट जाँदा न्यूनतम रु २० हजारमा खप्तड भ्रमण गर्न सकिन्छ ।

खप्तडमा खाने/बस्ने प्रबन्ध राम्रो छ । तर, पनि पाल, स्लिपिङ ब्याग, ड्राइफुड, ज्याकेट, रेनकोट, ऊनीको टोपी, मोजालगायतका न्याना कपडा बोक्नुपर्ने हुन्छ । त्यस्तै बडी, लोसन तथा प्राथमिक स्वास्थ्य सामग्री पनि अनिवार्य लैजानुपर्छ । खप्तडको मौसम पानी पर्दा सहनै नसक्ने चिसो हुन्छ । क्षण–क्षणमै मौसम परिवर्तन हुन्छ । १० मिनेटको फरकमा पानी पर्ने र घाम लाग्ने गर्छ । पानी परेपछि ती रमाइला फाँटहरू एकैछिनमा जलासयमा परिणत हुन्छन् । तर, पानी धेरैबेर रोकिँदैन । पानी पर्न छाड्नेबित्तिकै जमिन सुक्खा भइहाल्छ । यो खप्तडको विशेषता हो ।

Leave a Reply

Your email address will not be published.

भर्खर