यि रोगबाट छुटकारा पाउन बागलुङमा ध्यान र योगमा नागरिकको आकर्षण बढ्दो — OSNepal

यि रोगबाट छुटकारा पाउन बागलुङमा ध्यान र योगमा नागरिकको आकर्षण बढ्दो

LC (KTM) September 22, 2022 0

गलकोट, ६ असोज – पछिल्लो समय आध्यात्मिक योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्न थालेको छ । ओशो सन्यासी, पतञ्जली योग तथा आयुर्वेद औषधालयअन्तर्गत पछिल्लो समय बागलुङमा ध्यान, योग र साधना अभियान सञ्चालन हुँदै आइरहेको छ ।

दुई जनाबाट सुरु भएको बागलुङस्थित ओशो अमृतम ध्यान केन्द्रमा अहिले एक सयभन्दा बढी ओशो सन्यासीले ध्यान, योग र साधना गरिरहेका छन् । यस्तै धवलागिरि आयुर्वेद औषधालयको सभाहलमा अहिले नियमित योग कक्षा सञ्चालन भइरहेको छ । उक्त योगकक्षा जुममार्फत घरमै बसेर गर्न सकिन्छ ।यस्तै पतन्जली योग समितिद्वारा राधाकृष्ण मन्दिरको सभाहलमा प्रत्येक बिहान योग तथा ध्यान कक्षा सञ्चालनमा आइरहेको छ । योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द दिलाउने र शारिरीकरूपमा स्फूर्ति ल्याउने भएकाले पछिल्लो समय बागलुङमा योग, ध्यान र सानधाप्रति आकर्षण बढिरहेको आयुर्वेद औषधालयका डा सरोज रायले बताउनुभयो ।

“हामीले झण्डै एक वर्षदेखि योगकक्षा चलाइराखेका छौँ, दैनिक २० देखि २५ जनाले योगशिक्षा लिइराखेका छन्, कतिपय बिरामीलाई हामीले एक हप्ताको योगशिक्षा दिएर घरमै बसेर गर्न लगाएका छौँ, योगपछि अस्पतालमा आएका बिरामीमा सकरात्मक प्रभाव पारेकोे छ”, उहाँले भन्नुभयो, “कोरोनाको बेलामा हामीले जुममार्फतसमेत योग सिकाएका थियौँ, अहिले हाम्रो ध्यान अस्पतालमा विभिन्न समस्या लिएर आएका बिरामीलाई योग सिकाएर पठाउनेतर्फ लागेको छ, जिल्लामा ओशो अमृतम तथा पतञ्जली योगलगायतले योग तथा ध्यान गराउँदै आएको छन्, पछिल्लो समय योग र साधनाको फाइदाका विषयमा नागरिकले थाहा पाएपछि यसतर्फ आकर्षण बढ्दै गएको हो ।”

डा रायका अनुसार यसबाट शारीरिक रोगबाट मुक्ति, आत्मबल बढाउने, मानसिक रोगबाट मुक्ति, अनिद्रा नहुने, मांसपेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रिकलगायतको रोगबाट छुटकारा पाउन सकिन्छ । योगका आठ स्तम्भमध्ये बागलुङमा ध्यानलाई समेत महत्वपूर्ण विषयका रूपमा लिइँदै आइएको छ ।मानिसले घरमै युट्युब हेरेरै भए पनि योग तथा ध्यान गरिरहेको पाइएको छ । यस्तै योग, आध्यात्म र स्वास्थ्यलाई एकैसाथ अँगालेको ओशोको ध्यानबाट पछिल्लो समय सन्यासी बन्नेहरूको लहर बढेको छ, ध्यानका माध्यमबाट तनाव र कुण्ठाबाट मुक्त हुनाका साथै मानिसमा सकारात्मक भाव बढेको छ । जिल्लामा दुई जनाबाट सुरु भएको ओशो ध्यान अभियानमा अहिले बढी नागरिक जोडिएका छन् । ओशो अमृतम ध्यान केन्द्रमा अहिले नियमित ध्यान हुने गरेको छ ।

ओशो तपोवनका संस्थापक आध्यामिक गुरु स्वामी आनन्द अरुणको निर्र्देशनमा दिनमा २४ घण्टामध्ये एक घण्टा ध्यानलाई छुट्याउने गरिएको ध्यान केन्द्रकी सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले अबको सयम सन्यासी बनेर मागेर हिँड्नुपर्दछ भन्ने खालको नरहेर एउटा सन्यासीले बाँडेर खानु पर्दछ भन्ने मान्यता तर्फ आर्कषित भइरहेको बताउनुभयो ।

“आशो सन्यासीहरूलाई काम छोड्नु, अध्ययन छोड्नु र पेशा व्यवसाय छोड्नु भन्दैनौँ, आफ्नो पेशा–व्यवसायमा कटिबद्ध रहँदै देशलाई आर्थिक विकासमा अगाडि बढाउन र वातावरण जोगाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो, २४ घण्टाको समयमा जम्मा एक घण्टा ध्यान, योग र प्राणयमलाई दिनसके जीवन निकै आनन्दमय भएको आभास हुनेछ”, उहाँले भन्नुभयो, “भौतिक सुख, सुविधा त्यागेर कुटीमा बस्नुमात्रै सन्यासी होइदैन भन्ने ओशो रजनीशको शन्देश रहेकाले आफ्नो जीवन, कर्मलाई र ध्यान सँगसँगै लैजान सकिन्छ भन्ने मान्यताका साथ ओशोप्रेमीको बढ्दै गइरहेको छ ।”नेपालमा योग तथा ध्यान केन्द्रसमेत खोल्ने कार्यले तीव्रता पाएको छ । पछिल्लो समय वातावरण बिगँ्रदै गएकामा चिन्ता व्यक्त गर्दै ओशो सन्यासीहरूले ध्यानमा मात्रै जोड नदिएर आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पाँचवटा रुख रोप्नुपर्ने नियम रहेको बताउनुभयो ।

आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसले अमूल्य जीवनलाई बर्वाद पारिरहेको सन्दर्भमा ध्यान र योगका माध्यमबाट आफूलाई खुसी राख्न सकिने ध्यान तथा योगप्रेमीहरूले बताउँदै आएका छन् । संसारभरका एक लाख ३० हजार बढी व्यक्तिलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणको प्रेरणाबाट बागलुङमा पछिल्लो समय ध्यान र योगप्रति आकर्षण बढिरहेको योगी लीला खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर