तुलसीपुरमा टेण्डर नपरेपछि ढुवानी भएन चामल – OSNepal

तुलसीपुरमा टेण्डर नपरेपछि ढुवानी भएन चामल

LC (KTM) September 23, 2022 0

तुलसीपुर-चामल ढुवानीका लागि टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र परेको छैन । “ बोलपत्र खोले पनि कसैले पनि बोलपत्र आह्वान गरेनन्”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि चामल ढुवानी हुनसकेको छैन ।”

पहाडी जिल्लामा चामल पु¥याउनका लागि तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ । बोलपत्र नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामलसमेत पठाइसकेको छ । ढुवानी रकम महँगो भएकाले पनि बोलपत्र हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । “अहिले पेट्रोलको मूल्य बढेको छ, तर ढुवानी मूल्य बढेपछि बोलपत्र हाल्न नमानेको हुनसक्छ”, उहाँले भन्नुभयो ।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उहाँले बताउनुभयो । जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु एक सय तीन, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ ।

दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेकोसमेत उहाँले बताउनुभयो । उहाँका अनुसार दाङमा कम्पनीको वार्षिक दुई सय क्विन्टलमात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको उहाँको भनाइ छ ।

अर्कोतर्फ मानिसलाई खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको बताउनुभयो । यसका लागि प्रचार–प्रसार आवश्यक रहेको उहाँको भनाइ छ । तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर