उद्योग व्यवसाय समृद्धिको आधार, उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय - मुख्यमन्त्री राई — OSNepal

उद्योग व्यवसाय समृद्धिको आधार, उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय – मुख्यमन्त्री राई

LC (KTM) September 27, 2022 0

रङ्गेली – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताउनुभएको छ । सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताउनुभयो ।

नेपालमा कृषिको युग रहेको र त्यति बेलाको कृषि युगमा उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय भएको उल्लेख गर्दै उहाँले सुनसरी–मोरङमा उत्पादन हुने जुटको उपयोग गर्न उद्योग स्थापना भई यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैलाई रोजगारी दिएको बताउनुभयो ।

“अहिले पनि तीन हजारलाई उद्योगले प्रत्यक्ष रोजगारी दिएको छ”, उहाँले भन्नुभयो, “अप्रत्यक्ष रुपमा थुपै्रले रोजगारी पाएका छन् । यतिमात्रै हैन उद्योगले वार्षिक साढे दुई अर्बको जुटका सामग्रीहरू निर्यात गरेर विदेशी मुद्रासमेत भित्राइरहेको बताउनुभयो ।” मुख्यमन्त्री राईले देशको मुख्य संकल्प राष्ट्रिय पूँजीको विकास गरी दलाल पूँजीलाई विस्थापित गर्नुपर्ने समय आएको तर्क गर्नुभयो । उहाँले सङ्घीयतामा प्रदेश सरकारलाई निम्सरो बनाइएका कारण जनताको अपेक्षाअनुसार प्रदेश सरकारले उद्योग व्यवसायको क्षेत्रमा काम गर्न नसकेको स्पष्ट पार्नुभयो ।

समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दसैँ जस्तो चाडमा व्यापारमा मन्दी आएको बताउनुभयो । अहिलेको मन्दीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा ठूलो सङ्कट आउने संकेत गरिरहेको बताउँदै उहाँले अर्थतन्त्रका सबै क्षेत्र शिथिल भएका बेला बैंकिङ क्षेत्र भने अवसर ठानीको गुनासो गर्नुभयो । गोल्छाले सरकार, निजी क्षेत्र र बैंकिङ क्षेत्रले सहकार्य गरेर आर्थिक सङ्कटलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर