ट्याक खोलेको २३ वर्षपछि सडक कालोपत्रको काम सुरु — OSNepal

ट्याक खोलेको २३ वर्षपछि सडक कालोपत्रको काम सुरु

LC (KTM) October 20, 2022 0

म्याग्दी-ट्याक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो । एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो । विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताउनुभयो ।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो । निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरेको बताउनुभयो ।

“बेनी–दाना सडक कालीगण्डकी कोरीडोर र बेनी–दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०५५÷५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्वको सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।”पहिलो चरणमा उपल्लाचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर ३ तोराखेतसम्म नौ किलोमिटर दूरीमा कालोपत्रे गर्ने लक्ष्य छ । भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हँुदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । सडक कालोत्रप भएपछि रत्नेचौर, उपल्लाचौर, सालघारी, अर्जम, फापरखेत, भकुण्डे, स्यानालेक, तोराखेत र भकिम्लीका बासिन्दालाई निकासी, ढुवानी र आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर