तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह — OSNepal

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

LC (KTM) October 02, 2022 0

दमौली-मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

निर्वाचनपश्चात फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका सात सय ९५ हतियार रहेका छन् । तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको सङ्ख्या जिल्लामा सात सय ९५ रहेको छ । त्यसमध्ये पाँच सय ६७ भरुवा बन्दुक र दुई सय २८ राइफल रहेको प्रशासनले जनाएको छ । हातहतियार खरखजाना ऐन, २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । “चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ ।”

तनहुँमा निर्वाचनको तयारी सुरु
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी सुरु भएको छ । निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी सुरु गरिएको हो । निर्वाचनको तयारीस्वरुप तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । सो अवसरमा नगरप्रमुख पण्डितले निर्वाचन सम्पन्न गराउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रहरी प्रशासन सक्षम रहेको बताउनुभयो । प्रहरी उपरीक्षक रेग्मीले मतदातालाई ढुक्कसँग मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार स्थापना गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश दलबहादुर केसी नियुक्त हुनुभएको छ ।

निर्वाचनको मिति नजिकिँदै गएकाले तनहुँमा निर्वाचनको आवश्यक तयारी सुरु गरिसकिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै कार्यालय स्थापना गरी मनोनयपत्र दर्ता र मतगणनाको काम हुने उहँले बताउनुभयो । जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता कायम भएका छन् । स्थानीय तह निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिकपछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता सङ्ख्या कायम गरेको हो ।

स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए । तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नं २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ । विसं २०७४ को प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका छन् । तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क) मा ६७ हजार एक सय ४४ र प्रदेशसभा (ख) मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नं २ प्रदेश (क) मा ६७ हजार ३२ र प्रदेश (ख) मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर