मादलमै परनिर्भर वादी समुुदाय – OSNepal

मादलमै परनिर्भर वादी समुुदाय

Osnepal Admin (KTM) October 03, 2022 0

दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुख्र्यौली पेसा हो । तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुख्र्यौली पेसा छोड्दै गएका छन् । स्थानीय मना वादीले मादल बनाउने पेसा नै संकटमा परेको बताइन् । उनी भन्छिन्, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा छोडिसकेका छन् । व्यावसायिक रूपले फाईदा नहुने देखिएपछि विस्तारै वादी समुदायमा मादल बनाउन छोडिएको हो ।

हाल पटाङ्गिनि दीर्घ वादीले मात्र मादल बनाउने काम गर्छन् । उनी एक्लैले पुख्र्यौली पेसाको काम गरिरहेका हुन् । मादलको माग तीज र तिहारमा बढी हुने गरेको दीर्घले बताए । मादल बनाएर मात्र जीविकोपार्जन गर्नै कठिन भएपछि वादी समुदायको यसप्रति आकर्षण पनि घटेको हो । दीर्घ भन्छन्, ‘कुनै बेला यो हाम्रो बालीघरे पेसा थियो । मादल दिएर त्यसको सट्टा जुन सिजनमा जे बाली पाक्छ त्यसकै अन्न ल्याइन्थ्यो । मेहनत बढी र कमाइकाज कम हुने भएकाले अहिले धेरैले पेसा छोडिसके ।’ अबका पुस्ताले यो पेसामा लाग्नै सरम मान्ने गरेको उनी बताउँछन् । नयाँ पुस्तालाई मादल बनाउने सीपको हस्तान्तर नहुँदा वादी समुदायको सिल्पकला नै हराएर जाने देखिएको सोही समुदायका अग्रजहरू बताउँछन् । ६७ वर्षीय दीर्घले मादल बिक्री नै नहुने भएपछि पछिल्लो पुस्ताको यसमा रुचि नगएको हो ।

मादल चाडपर्वको समयमा फाट्फुट विक्री भएपनि अरु बेला बिक्दैन । पछिल्ला वर्षहरूमा बर्सेनि मादलको माग घट्दो छ । पुख्र्यौली पेसा संकटमा परेकोप्रति वादी समुदायका अगुवाहरू चिन्तित छन् । उनीहरूका अनुसार मादलको व्यापार घट्नुको मुख्य कारण यसको प्रयोगमा कमी आउनु हो । चाडपर्वमा प्रदर्शन गरिने कला संस्कृतिसमेत औपचारिकतामा सीमित हुन थालेसँगै बाद्यबाधनका सामग्रीको प्रयोग निकै घटेको छ । अहिले मादल बनाउने कच्चा सामग्रीको उस्तै अभाव छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ आवश्यक पर्छ । मादल बनाउन काठ र छालालगायतका सामग्री सहजै नपाउने भएपछि पेसामा थप चुनौती देखिएको छ ।

पछिल्ला पुस्ताले मादल बनाउन छोडेपछि अहिले विदेशबाट आयात गरिएका मादलले बजार लिएको छ । स्थानीय उत्पादन नहुँदा मादलमा समेत परनिर्भर बन्ने अवस्था आएको हो । दसैँ सुरु भएपछि वीरेन्द्रनगरमा भारतको उत्तराखण्डबाट ल्याइएका मादल बिक्री वितरण भइरहेका छन् । गतवर्षसम्म छिट्फुट मात्र बाहिरबाट मादल आउने गरेपनि यो वर्ष बजारमा भारतमा बनाइएका मादल जहाँत्यही बेच्न राखिएको छ । ती मादल भारतीय नागरिकले नै बजारदेखि गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेका छन् ।

भारतको उत्तराखण्डबाट मादल बेच्न वीरेन्द्रनगर आएका मोहामत जफरले व्यापार राम्रो भइरहेको बताए । ‘दिनमा ५०÷६० वटासम्म बिक्री भएका छन्,’ उनले भने, ‘यहाँको चलेको रेटभन्दा दुुई चार सय कममा बिक्री गरिरहेका छौँ ।’ जानकारहरूका अनुसार केही सस्तोमा पाइए पनि यहाँ बन्ने मादलजस्तो गुणस्तर भारतबाट ल्याइएका मादलमा छैन । वीरेन्द्रनगरमा स्टेसनरी व्यवसाय गर्दै आएका शेरबहादुुर खड्का आफूले काठमाडौंबाट मादल खरिद गरेर विक्री गर्ने गरेको बताए । उनका अनुसार धेरै जसो मादलको माग तिहारमा हुन्छ । उक्त समयमा भजन, मण्डली र देउसीभैलोमा मादलको बढी प्रयोग गरिन्छ । खड्काले स्थानीय रूपमा उत्पादन नहुने भएकाले व्यवसायीहरूले मादल बाहिरबाट खरिद गरेर बेच्नुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर