कर्णाली नदीको बहावले सत्ती पुल कटान हुँदा हजारौँ नागरिकको सम्पर्क टुट्यो — OSNepal

कर्णाली नदीको बहावले सत्ती पुल कटान हुँदा हजारौँ नागरिकको सम्पर्क टुट्यो

LC (KTM) June 27, 2021 0

कर्णाली- कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराँै नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्ने गर्दथे ।

शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो । कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो । नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताउनुहुन्छ । “कैलालीका सयौँ नागरिकको खेतीपाती बर्दियामा छ । उनीहरु यो समयमा बिहान जाने, साँझ फर्कने गर्दथे”, कायस्थ भन्नुहुन्छ, “उनीहरुलाई समस्या शुरु भएको छ । यसका साथै कैलालीको उत्पादन बर्दियामा बिक्री हुने र बर्दियाको कैलाली आउने व्यापारिक सामान समेत नसकिने भएको छ ।”

बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ । “हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह ग¥यौैँ, कसैले सुनेनन्”, उहाँले भन्नुभयो, “पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्सात पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । यस वर्ष पुल नै रहेन ।”

वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताउनुभयो । पुल भत्केपछि कैलाली र बर्दिया जिल्लाको व्यापारिक विकासमा वाधा पुगेको स्थानीयवासी बताउँछन् । आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलङ्कामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ । श्रीलङ्कामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्ने सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताउनुभयो । “हामी टीकापुर बस्छौँ तर खेतीपाती उतै छ । खेती गर्ने समयमा अब कसरी जानु ?”, उहाँले भन्नुभयो, “श्रीलङ्कामा सयौँ बिघा खेतीयोग्य जमीन छ । अब मानिसलाई दुःख हुने भयो ।”

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “अब पुलबाट आवतजावत गर्ने अवस्था छैन । अब नागरिकले पुनः डुङ्गाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइलागेको छ”, प्रमुख चौधरीले भन्नुभयो, “पुल बनेपछि सुख पाएका नागरिकलाई पुनः जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर