नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण, करातेको स्वर्ण एपिएफ र पुलिसलाई — OSNepal

नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण, करातेको स्वर्ण एपिएफ र पुलिसलाई

LC (KTM) October 16, 2022 0

म्याग्दी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताउनुभयो । महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन् । पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राई तेस्रो भए ।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राई तेस्रो भएका छन् ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल द्वितीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भए ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेल द्वितीय, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेस्रो भए । तेक्वान्दोको पुम्मे विधातर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समूहबाट सेनाका गीता कडायत, लुम्बिनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीका अस्मिता खड्का क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५८ केजी तौल समूहबाट मधेस प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बोहोरा र सेनाका लोकबहादुर राउत क्वाटरफाइनल प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सातवटा प्रदेश, तीनवटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका प्रशिक्षक कर्ण प्रधानले २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२–२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

करातेको स्वर्ण एपिएफ र पुलिसलाई – पर्वत– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पार्नुभएको हो ।

त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कास्य पदक हात पार्नुभएको छ । पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धाअन्तर्गतका प्रतियोगिता हुनेछन् ।

यसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चारवटा खेल हुनेछन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन् ।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ । कात्तिक १ गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चारवटा ‘इभेन्ट’ मा खेल हुनेछन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुनेछन् ।

आउँदो कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछन् । करातेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराते ५३औँ राष्ट्रिय कराते प्रतियोगिता हो ।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ । ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ कास्य गरी कुल एक सय २८ पदक प्राप्त गर्नेछन् । कराते सात प्रदेश, सेना, सशस्त्र प्रहरी र प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर