चितवनमा एक अर्ब लगानीमा ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ सञ्चालनमा — OSNepal

चितवनमा एक अर्ब लगानीमा ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ सञ्चालनमा

LC (KTM) October 16, 2022 0

चितवन-सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो ।सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारीदिनुभयो । सोल्टीको पहिलो द सोल्टी काठमाडौँ, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् ।

उहाँका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताउनुभयो । नेपालका अन्य पर्यटकीयस्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका व्यवसायीको रु एक अर्ब लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो । रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन् । यीबाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन् ।

पाँच सय जना अट्ने एउटा, एक सय ५० जना अट्ने दुई, ७५ जना अट्ने तीन र २५ जना अट्ने दुई हलसमेत छन् । रेष्टुरेन्टमा एकपटकमा तीन सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै दुई सय ५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यससँगै हेल्थ क्लब रहने छ ।

बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उहाँको भनाइ छ ।

यससँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उहाँले बताउनुभयो । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर