नवौँ राष्ट्रिय खेलकुदः करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण — OSNepal

नवौँ राष्ट्रिय खेलकुदः करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

LC (KTM) October 16, 2022 0

पोखरा- पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् ।यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो ।

यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जित्नुभयो । गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उहाँले स्वर्ण हात पार्नुभएको हो । सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बन्नुभयो । नेपालीले रजत पदकमा चित्त बुझाउनुभयो । पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पार्नुभयो । भुजेलले रजत पदक जित्नुभयो । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल सेनाका विकास गुरुङले रजत पदक जित्नुभयो ।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाउनुभयो । यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जित्नुभयो । बागमतीका राईले रजतमा चित्त बुझाउनुभयो ।

यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जित्नुभएको छ । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाउनुभयो ।

महिलातर्फको खुला तौल समूहमा सेनाका मञ्जु विकले बागमती प्रदेशका निशा बोहोरालाई पराजित गरी स्वर्ण जित्नुभयो । यसैगरी ५०–५५ केजी तौल समूहमा गण्डकीका धनी रानामगरले सेनाका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो ।

यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशका नवीना धमालले सशस्त्र प्रहरीका करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाउनुभयो । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुङ्गेललाई पराजित गरी स्वर्ण पदक जित्नुभयो ।

महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगन भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगन भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताउनुभयो । विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआएनए गरी ११ टिम सहभागी भएका थिए ।

भलिबलमा लिग चरणका खेल जारी
अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई ३–० को सोझो सेटमा हरायो । एनआरएनएलाई एपिएफले २५–१९, २५–१५ र २५–१३ सेटमा हराएको हो । जितसँगै एपिएफले तीन अङ्क जोड्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश नं १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश नं १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै तीन अङ्क जोड्यो । तेस्रो खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्षस्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप तीन अङ्क जोडेको हो ।
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेस प्रदेश, दोस्रो खेल एपिएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा सहभागी ११ टिमलाई चार समूहमा राखेर खेलाइएको छ । हरेक समूहका विजेता र उपविजेता टिम क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् ।

समूह ‘डी’ मा गण्डकी र बागमतीमात्रै रहेकाले सिधैँ क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार बागमतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो । यस्तै म्याग्दी खुलामञ्च खेलमैदानमा भएको महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी र प्रदेश नं १ ले जित निकालेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश नं १ ले मधेस प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।

मनिषा खाणको कप्तानीमा मैदानमा उत्रिएको आर्मीको टोलीले कर्णालीलाई २५–१२, २५–१३ र २५–१२ सोझो सेटमा पराजित गरेको हो । यस्तै विनिता राईको नेतृत्वमा खेलेको प्रदेश नं १ ले मधेसलाई सोझो सेटमा पराजित गरेको हो । मधेसलाई हराउने क्रममा प्रदेश नं १ ले २५–१३, २५–२२ र २५–१५ नतिजा निकालेको हो । लिक कम नक आउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको प्रतियोगितामा छवटा खेल सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर