नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण — OSNepal

नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

LC (KTM) October 16, 2022 0

कास्की – विभागीय नेपाल प्रहरीको टोली नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन खेलमा पहिलो स्वर्ण जितेको छ ।पोखरा उद्योग वाणिज्य सङ्घमा आजदेखि सुरु भएको प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसका हिरामोती थारुले पहिलो स्वर्ण दिलाउनुभयो । उहाँले ‘स्न्याच’ विधातर्फ ५० र ‘क्लीन एन्ड जर्क’मा ६५ गरी कूल ११५ केजी भार उठाउँदै स्वर्ण जित्नुभएको हो । यसैगरी सशस्त्र प्रहरी एपीएफका लीला राईले रजत र मधेस प्रदेशका अम्बिकाकुमारी यादवले कास्य पदक दिलाउनुभयो ।

एपीएफका लीलाले स्न्याचतर्फ ४० र क्लीन एन्ड जर्कमा ५३ गरी कूल ९३ केजी र अम्बिकाले स्न्याचतर्फ ३५ र क्लीन एन्ड जर्कमा ४० गरी कूल ७५ केजी भार बहन गर्नुभयो । सो तौल समूहमा सात जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कूल १७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य गरी ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले भारत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने प्रशस्त सम्भावना रहेको खेल भएकाले खेलाडीलाई सोहीअनुरुप मेहनत गर्न आग्रह गर्नुभयो । राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९औँ एशियाली खेलकुदका लागि राष्ट्रिय टिममा अनुबन्ध हुने उहाँले बताउनुभयो । यही असोज २९ गतेदेखि सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर