फूल खेती गर्ने किसानले गरे तिहारका लागि फूल र मालाको मूल्य निर्धारण — OSNepal

फूल खेती गर्ने किसानले गरे तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

LC (KTM) October 18, 2022 0

चितवन-जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।कृषकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य रु ९० देखि १०० र होलसेल मूल्य रु ६० देखि ७० कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य रु ७० र होलसेल मूल्य रु ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सयपत्री फूल प्रतिकिलो रु तीन सय ५० देखि चार सय कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।

भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताउनुभयो । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उहाँले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।

जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिनुभयो । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।” यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उहाँको दाबी थियो । भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उहाँको भनाइ थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उहाँले बताउनुभयो । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहनुभएको छ । पेशाले प्राध्यापक भए पनि उहाँले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आउनुभएको छ ।

असोजदेखि मङ्सिरसम्म यो व्यवसाय हुने उहाँको भनाइ थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उहाँले जानकारी दिनुभयो । रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले अहिले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आउनुभएको छ । तीन जना मिलेर सुरु गर्नुभएको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उहाँले बताउनुभयो ।

तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग भएको भन्दै उहाँले जिल्लाले यो माग धान्न सक्ने बताउनुभयो । अहिले व्यावसायिकरुपमा पुष्पखेती गर्ने कृषकले जिल्लामा तीनदेखि चार लाख माला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो । जसमध्ये ५० हजारदेखि एक लाख माला मखमली फूलको उत्पादन हुने छन् ।

जिल्लामा उत्पादित मालाबाट कृषकले रु चार करोडको कारोबार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान रहेको छ । बीस प्रतिशत माला गाउँघरमा आफैँ बनाउने गरेकाले यहाँको बजारलाई माला प्रर्याप्त हुने कृषकले बताएका छन् । नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताउनुभयो । उहाँका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगार पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने कृषकको भनाइ छ ।

विचौलियका कारण माला बिक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ ।” हामीले दुःख गरेका छौँ तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो उहाँको गुनासो थियो । कृषकले तिहारलाई लक्षित गरेर आजदेखिनै माला तयार गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर