तिहारसँगै पोखरामा छैटौँ पुष्प मेला गरिने — OSNepal

तिहारसँगै पोखरामा छैटौँ पुष्प मेला गरिने

LC (KTM) October 19, 2022 0

पोखरा-व्यावसायिक प्रवद्र्धन तथा तिहार पर्वलाई लक्षित गरी पोखरामा छैटौँ पुष्प मेला सञ्चालनमा ल्याइने भएको छ । यहाँका पुष्प व्यवसायीले यही कात्तिक ४ गतेदेखि ६ गतेसम्म पुष्प मेला सञ्चालन गर्न लागेका हुन् । पोखरा रङगशालामा आयोजना गरिने पुष्प मेलामा गोदावरी फूललाई विशेषरूपमा प्रवद्र्धन गरिने गोदावरी प्रदर्शनी तथा पुष्प मेला, २०७९ मूल आयोजक समितिका संयोजक डिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

गोदावरी मेलामा कास्की तथा यस क्षेत्रअन्तर्गत २५ व्यवसायीले आफ्ना नर्सरीमा उत्पादित फूल तथा फूलका बीउको स्टलहरू राख्ने आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ । पुष्प मेलामा रु आठ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा सरकारी तथा विभिन्न सङ्घ संस्थाको सहयोग रहने जानकारी सो अवसरमा दिइएको थियो । प्रदर्शनीमा गोदावरी फूलका अतिरिक्त अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई, बिरुवा प्रदर्शनी एवं बिक्री गरिने जानकारी पुष्प व्यवसायी दयाकुमार द्वाले दिनुभयो ।

पोखरामा प्रत्येक वर्ष पुष्प प्रदर्शनी गरिँदै आएको भए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण मेला सञ्चालनमा आउन सकेको थिएन । कास्कीमा मात्र ५० भन्दा बढी पुष्प व्यवसायी रहेका छन् । फूलमा गण्डकीलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै फूलको प्रवद्र्धन गरिएको पुष्प व्यवसायी द्वा बताउनुहुन्छ । पछिल्लो समय पुष्प खेतीतर्फ कृषक आकर्षित भएको र फूलले मूल्यसमेत पाउने गरेको व्यवसायीहरूले बताएका छन् ।

पोखरामा तिहारको समयमा मात्र रु दुई करोडभन्दा बढी मूल्यको सयपत्री तथा मखमली फूलका माला तथा फूल बिक्री हुने गरेको जानकारी उक्त अवसरमा दिइएको छ । आयोजकका अनुसार तिहारमा बिक्री हुने ८० प्रतिशत फूल तथा माला कास्की तथा आसपासका जिल्लामा नै उत्पादित हो भने २० प्रतिशत माला तथा फूल भारतबाट आयात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर