घरदैलो चुनाव जितेपछि झन् तिव्र रुपमा गर्नेछु - मदुकुमार श्रेष्ठ — OSNepal

घरदैलो चुनाव जितेपछि झन् तिव्र रुपमा गर्नेछु – मदुकुमार श्रेष्ठ

LC (KTM) October 21, 2022 0

काठमाडौं । फिल्मकर्मी तथा नेपाली कांग्रेसका युवा नेता हुन् मदुकुमार श्रेष्ठ । राजनीतिलाई समाजसेवाको रुपमा अगाडि बढाउदै आएका श्रेष्ठले ४ फिल्म निर्माण गरेका छन् । पछिल्लो केही समययता उनले फिल्म निर्माण गर्न भ्याएका छैनन् । कारण हो उनको समाजसेवा प्रतिको तिव्र आकर्षण । उनी धादिङका स्थानियसँग सुखदुःख साट्न तल्लिन थिए ।

कोरोना होस् वा अन्य समय धादिङबासीको सेवामा उनी दिन रात नभनी खटि रहन्छन् । एक्लैले समाजमा परिवर्तन गर्न अझै समय लाग्ने देखेर मदुकुमारले सबैको अपनत्व हुने गरी स्वर्गीय बुवाको नाममा श्री कृष्ण गोपाल फाउन्डेसनको स्थापना गरेर आफैले रु. एघार लाख (seed money) हालेर गाउँ गाउँमा स्वास्थ्य शिविरहरु सञ्चालन गरी निशुल्क औषधिहरू र चस्माहरु वितरण गरे।

आफ्नो समाजसेवालाई थप अगाडि बढाउन उनले अहिले धादिङ १ (क)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका उनी आफ्नो उम्मेदवारी धादिङबासी तथा समग्र धादिङको बिकाशको लागि बताउछन् । उनै युवा नेता मदुकुमार श्रेष्ठसँग गरिएको छोटो कुराकानी ।

चुनाबी गतिबिधि कसरी अगाडि बढाइरहनु भएको छ ?
– अहिले हामी आफ्नो पार्टी संगठनलाई सुचारु गर्न क्षेत्र, प्रदेश, पालिकादेखि वडासम्मका मिटिङ, भेटघाट र छलफल गरिरहेका छौ । जनतामाझ कसरी जाने, उनीहरुको विश्वास कसरी जित्ने लगायतका बिषय योजनामा छन् ।

घरदैलो कार्यक्रमको योजना छैन ?
– २०७४ को निर्वाचन पश्चात म निरन्तर रूपमा घरदैलो नै गर्दै आईरहेको छु । हामी चुनावको समय सबैको घर घरमा पुग्न नसकौला किनभने मेरो क्षेत्र ठुलो छ । हामी हरहमेसा जनताको सुख दुःखमा सरिक हुने भएकोले अहिले सबैको घरदैलोमा खासै पुग्न आवश्यक पनि देख्दिन । ठाउँठाउमा कोणसभा लगायत गरेर जनतासँग जोडिने तयारी गर्दैछौं । र मेरो मुख्य घरदैलो त अझ चुनाव पछि तिव्र हुनेछ भन्नेमा विश्वस्त हुन आग्रह पनि गर्दछु।

तपाईं गठबंधनको साझा उम्मेद्वार हुनुहुन्छ । यो हिसावले चुनावी प्रतिस्पर्धा कतिको सहज देख्नु भएको छ ?
– चुनाव लड्दै जाँदा बिभिन्न चुनौतीको सामना गर्नुपर्छ । यो भन्दा अगाडि बामगठबन्धन एक हुँदा पनि म एक्लो चुनाव लडेकै हो । अहिले हाम्रो गठबन्धन छ । त्यो हिसावले मैले धेरै सहज देखिरहेको छु । अहिले म माओवादी, समाजवादी लगायतका साथीहरुको साथ र सहयोगमा अगाडि बढीरहेको छु । त्यो कारणले सहजै छ भन्नुपर्ला तर overconfident चै होइन है । यै भूमिमा जन्मिए,हुर्किए। म आज जहाँ छु धादिङ र धादिङबासिकै कारणले छु।त्यसैले यो क्षेत्रमा अझै मैले गर्नुपर्ने योगदान र क्रियाकलापहरु धेरै छन् । संभवतः मलाई थाक्ने र बिश्राम लिने छुट छैन।

कलाकारितासँगै राजनीतिमा होमिन के कुराले प्रेरित गर्यो ?
– म कलाकारितामा विगत लामो समयदेखि भएपनि मेरा बुबा नेपाली कांग्रेस धादीङबेसीको पार्टी सभापति हुनुहुन्थ्यो । त्यसैले सानैदेखि म राजनीतिक संस्कारमा हुर्किए । बुवाको राजनीति प्रतिको अब्बल बुझाइ र समाजप्रतिको उत्तरदायीत्वले मलाई यसप्रति अझै बढी आकर्षित बनायो। राजनीति मानिसहरुले गरिखाने ठाउँ बनाएकोमा मलाई कहिलै पनि चित्त बुझेन । त्यो कारणले मेरो ठाउँ धेरै बिकास समेत हुन सकेन । अफ्नो ठाउँको बिकास आफैले गर्नुपर्छ, आफुले नगरेर कस्ले गर्छ, अहिले नगरे कहिले गर्ने त भन्ने मान्यताको साथ म राजनीतिमा होमिएको हो ।

अर्काेकुरो युवा जोस र जागर भएको समयमा नै केही गर्नुपर्छ भनेर म बिगत १५ बर्षदेखि आफ्नो स्थानका बिभिन्न क्रियाकलापमा जोडिदै आएको छु । मेरो बाल्यकाल पनि धादिङमै बित्यो । मेरो बुबा पनि दुखीहरुको सेवा गर्नुहुन्थ्यो । उहाँको प्रभाव मेरो जीवनमा धेरै परेको छ। अवको जीवन मैले त्यही ठाउँका आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुसँग बिताउने सोच बनाएको छु । १०, २० हजारको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, दुई छाक खान कसैलाई गाह्रो नहोस् भनेर म लागी परेको छु ।

२०७४ को निर्वाचनमा पराजित हुनु भएको थियो होइन र ? अहिले जित्ने आधार के छ त ?
हेर्नुस् , २०७४ मा अहिलेका मुख्य मन्त्री राजेन्द्र पाण्डे सर म सँग चुनाव लड्नु भएको थियो । उहाँ चिरपरिचित ब्यक्ति पनि हुनुहुन्थ्यो । त्यो समय माओवादी र एमालेको गठबन्धन समेत थियो । त्यो समय पनि मैले साहसका साथ चुनाव लडे र सम्मानजनक मत ल्याए । चुनाव हारेपनि म यो बितेको ५ बर्ष कोरोना होस् या डेङ्गु हरेक समय जनताको माझ पुग्ने प्रयास गरेको छु । मेरो क्षेत्रका मानिस मात्र होइन, हरेक क्षेत्रका मानिसहरुलाई अप्ठ्यारो पर्दा मैले दिन रात नभनी आफूले सक्दो सहयोग गरेको छु ।

कोरोनाको समयमा आफ्नो क्षेत्रमा मात्र ८ हजार मानिसलाई माक्स बाढे, २०० जनालाई अक्सिजन बाढे, ७ सय भन्दा बढी परिवारलाई राहत बाँढे । कोरोनाको भयावह स्थितिमा छिमेकीले समेत नहेर्ने समयमा डाक्टर टोली लिएर घरघर पुगेर ३२ सय भन्दा बढि बिरामीको उपचार गराए । ४ सय बढी मानिसलाई आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएर काठमाडौँ ल्याएर उपचार गराए । त्यो सबै कुरो मेरो क्षेत्रका मानिसहरुलाई थाहा छ । यो मिडियामा पनि आएको छ । एकपटक यसले हामीलाई परेको बेला गर्छ भनेर विस्वास भएको सन्देश गएको छ । अहिले हरेक धादिङबासी मङ्सिर ४ को पर्खाइमा छन् र मलाई मत हाल्न आतुर देखिन्छन। त्यसकारण धादिङबासीलेले यो पटक मलाई विस्वास गर्नुहुन्छ र म जित्छु भन्ने कुरामा दुइमत छैन ।

जित्नुभयो भने तत्कलै प्रथामिकतामा राख्नुपर्ने काम के के छन् त ?
– म पहिले मानिसको दैनिक जीवनसँग जोडिएको कुराबाट जान्छु । पहिले खानेपानी, स्वास्थ्य, शिक्षा,रोजगार र मोटरबाटोको समस्या नीतिगत हिसाब बाट समाधान गर्नेर्छु । मेरो क्षेत्रका केही आमाबुबा, दाजुभाइहरु न्यून आय भएको पनि हुनुहुन्छ, उहाँहरुको स्तर उकास्नु पनि मेरो दायीत्व हो । कृषि र पर्यटनको विषयमा यथासिघ्र विज्ञ टोली सँग संवाद गरेर अगाडि बढ्नेछु। म सांसद जितेर गएपछि प्रदेश होस् वा केन्द्र सबै ठाउँबाट ल्याउन सक्ने बजेट ल्याएर आफ्नो क्षेत्रको विकास योजना ल्याएर स्थानिय सरकारसँग सहकार्य गर्नेछु । मुख्य कुरा; भ्रष्टाचारको विरुद्दमा सदनमा सशक्त रुपमा प्रस्तुत हुनेछु।

कलाकर्मीको साथ र सहयोग कस्तो छ ?
बरिष्ठदेखि कनिष्ठसम्म सबैको साथ र सहयोग पाएको छु । पार्टीगत भन्दा पनि एउटा कलालाई माया गर्ने व्यक्ति र समाजसेवीले जित्नुपर्छ भनेर भन्नु भएको छ । र उहाँहरू पनि यसपाली म जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ । मेरो जित नै सम्पूर्ण कलाकार र कलाप्रेमिको जीत हो भन्नुभएको छ ।

केका लागि राजनीति ?
मैले अघि नै पनि भनिसके, म समाजसेवा गर्न राजनीतिमा आएको हुँ र यो मेरो सँस्कार पनि हो। यो देश विकास हुन नसक्नुको मुख्य कारण नै भ्रष्टाचार हो। भ्रष्टाचार निर्मूल पार्नु मेरो पहिलो प्राथमिकता हुनेछ । राजनीतलाई गरिखाने ठाउँ बनाए/पेशा बनाए। त्यसैले “राजनीति” भन्ने शब्द नै आम जनतामाझ घृणित हुँदै गएको छ। राजनीतिको परिभाषा बदल्ने संकल्प पनि लिएको छु । यहाँ चुनाव जितिसकेपछि नेताहरु शोषक बने भन्ने गुनासो धेरै छ तर म धादिङबासिको सेवक हो र गर्व गर्न लायक संसद बनेर देखाउनेछु । आफूले पाउने तलब/सुविधा सबै एउटा कोष बनाएर धादिङबासिकै लागि खर्च गर्ने प्रतिबद्धता गर्दै हरेक महिनाको कम्तीमा २ चोटी धादिङबासिसँग छलफल गरी त्यस्ता सडकका कुरालाई संसदभवन मा प्रखर रूपमा प्रस्तुत गर्नेछु। एकपैसा भ्रष्टचार गर्ने पनि छैन र गर्न दिने पनि छैन ।

कलाकारिता पनि जारी रहन्छ ?
कलाकारितामा मैले अभिनयको अलवा बजार, बिन्दास, स्काउट, बिन्दास २ लगायत फिल्महरु पनि निर्माण गरेको छु । त्यो अलिकति ग्याप भएको छ । बिचमा एउटा बनाउने तरखरमा थिए । राजनीतिले गर्दा समय मिलेन । समय मिल्यो भने निर्माण गर्नेछु।

चुनावका लागि खर्च नि ?
मेरो खर्च धेरै हुँदैन किनभने मैले कामबाट सबैको मन जितिसकेको छु । धनले भन्दा पनि मनले चुनाव जित्नुपर्छ भन्ने मेरो धारणा हो । निर्वाचन आचारसंहिता भन्दा बाहिर जादिन । यो कुरामा तपाईं ढुक्क हुनुहोस्।

अन्त्यमा ?
मेरो धादिङको आमाबुबालाई म तपाईको छोरो, नाती, दाजुभाई तपाइहरुको सेवा गर्न आएको हो भन्न चाहन्छु र यो कुरा मेरो विगतको कर्मले पनि पुष्टि गर्ला नै। त्यसैले एकपटक काम गर्ने र तपाइहरुको सेवा गर्ने अवसर दिनुहोला । मैले ५ वर्ष मा आफूले भनेका कामहरू गर्न सकिनँ भने अर्को चुनावमा म भोट माग्न आउदिन भनेर पनि बचन दिन चाहन्छु । म मेरो क्षेत्र बिकाश गर्न सक्छु । मलाई मात्र एउटा अवसर चाहिएको छ । अन्तमा फेरिपनि आउँदो मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेश सभा सदस्य पदको लागि नेपाली काङ्ग्रेसको तर्फबाट धादिङ क्षेत्र नं. १ प्रदेश(क) का गठबन्धनका साझा उम्मेदवार म मदुकुमार श्रेष्ठलाई रुख चिन्हमा मत हाली विजयी गराइदिनुहुन सम्पूर्ण धादिङबासी क्षेत्र नं १(क) का मतदाताहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु। जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर