प्रधानन्यायाधिश भ्रष्टाचारको विवादमा परे पछि कवि कवीन्द्रराज सिटौलाले निकाले 'न्याय रोए' ( भिडियो ) — OSNepal

प्रधानन्यायाधिश भ्रष्टाचारको विवादमा परे पछि कवि कवीन्द्रराज सिटौलाले निकाले ‘न्याय रोए’ ( भिडियो )

LC (KTM) October 23, 2022 0

विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका कवि कवीन्द्रराज सिटौलाले न्याय रोए पछि भन्ने मार्मिक भिडियो (अङ्कीयदृश्य) सार्वजनिक गरेका छन् । उनले गत अक्टोबर २२ का दिन अमेरिकाको मनासस शहरमा एक पत्रकार सम्मेलन गरि २०४६ सालको जन आन्दोलनमा होमिएको घटना ,आफ्नो सक्रिय सहभागिता र उनले खेलेको भूमिकालाई चित्रण गर्दै अङ्कीयदृश्य सार्वजनिक गरेका हुन् ।

उनले पत्रकारहरुलाई आफूले वाचन गरेको कविता प्रस्तुत गर्नुको साथै २०४६ मा टुडेखेल ,दरवारमार्गमा सहभागिता भएका अन्य तस्बिरहरु समेत प्रस्तुत गरेका थिए । उनले उक्त पत्रकार सम्मेलनमा हजारौ हजारको भिडमा आफूलाई पहिचान गरि आफू यो ठाउँमा भएको र आफू यो हु भनि आफ्नो तस्बिर समेत पत्रकारहरुलाई देखाएका थिए । २०४६ सालमा प्रजातन्त्र ल्याउन लाखौ लाख जनताले खेलेको अहम भूमिकाको साथै उनि पनि त्यसको एक हिस्सा भएकोले उनले खेलेको भूमीका ,सक्रियता र उनले प्रजातन्त्र प्राप्तिको लागि आन्दोलनमा सक्रिय सहभागिताको साथै उठाएको बुलन्द आवाज सहितले अन्तत्वगत्वा प्रजातन्त्र आएको थियो ।

उनले छापा बिज्ञप्तिमा मैले जब नेपालको न्यायालय र प्रधानन्यायाधिश भ्रष्टाचार र अन्य बिबादमा मुछिएको समाचार पढें, मलाई सारै नमज्जा लाग्यो, अन्तरालसम्म पीडाबोध भयो र ‘न्याय रोए पछि’ भन्ने यो कविताको जन्म भयो भनि लेखेका छन् ।

सोही कविताको अन्तिम तिर, पहिलो खेस्रा लेखिरहेको बेलामा ‘सहिदका आँखाबाट बलिन्ध्र धारा आशु बगे’ भन्ने हरफ लेख्दा मेरा आँखाबाट पनि साँच्चि नै बलिन्द्रधारा आँशु बगिरहेका रहेछन् । ती आँशुका थोपाले मेरो सिर्जना भईरहेको कविता भिज्न पुगेछ भनि उल्लेख गरेका छन ।

उनको यो न्याय रोए पछिको अङ्कियदृश्य(भिडियो)सहित छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै “:

ब्रमाण्डको सृजनामा भगवानले मानिसलाई अरु प्राणी भन्दा चेतनशील बनाइ दियो । हामी अरु भन्दा बिवेकशील छौ । हामी र अरूमा यही हो फरक । यसको एउटै गुण हो — न्याय र अन्यायको अन्तर छुट्याउन सक्ने क्षमता । हामी अन्याय हुन दिदैनौ र न्यायकोलागि निरन्तर डटि रहन्छौ । जहाँ न्याय पद्धतिमा अन्याय हुँदैन त्यसलाई “न्याय’’ भनिन्छ ।

जुनसुकै राष्ट्रमा न्याय गर्न खटाइएको लदाधिकारीलाई न्यायधीश भनिन्छ र उनीहरूले फैसला सुनाएको क्षणमा आँखा चिम्लिनु पर्छ । एउटा निसाफले मानिसको जीवन लिन्छ र दिन्छ पनि । यसले सभ्यताको नयाँ ढोका खोल्दै समाजलाई सन्तुलित बनाउँछ । त्यसैले कुनै पनि न्यायाधीशले न्याय भन्दा अन्यथा गर्न मिल्दैन ।

मैले जब नेपालको न्यायालय र प्रधानन्यायाधिश भ्रष्टाचार र अन्य बिबादमा मुछिएको समाचार पढें, मलाई सारै नमज्जा लाग्यो, अन्तरालसम्म पीडाबोध भयो र ‘न्याय रोए पछि’ भन्ने यो कविताको जन्म भयो । सोही कविताको अन्तिम तिर, पहिलो खेस्रा लेखिरहेको बेलामा ‘सहिदका आँखाबाट बलिन्ध्र धारा आशु बगे’ भन्ने हरफ लेख्दा मेरा आँखाबाट पनि साँच्चि नै बलिन्द्रधारा आँशु बगिरहेका रहेछन् । ती आँशुका थोपाले मेरो सिर्जना भईरहेको कविता भिज्न पुगेछ । त्यसपछि म अझ भावविह्वल भएर सो लेख्दै गरेको कविता छातीमा टाँसेर अतीतमा पुगेँ । त्यही क्षणले ३० बर्ष अधिको युवा कवीन्द्रसित भेट गरायोे र त्यहीं पुर्याएर अलिखित इतिहासको कथा पुनर्जागरण गरायो ।

ऐतिहासिक २०४६ (१९९०) को जनआन्दोलनमा पूर्णरूपमा सकृय भएर सहभागी बन्दै विद्रोहमा लड्यो ऊ लाखौं राष्ट्रभक्त नेपालीहरूसँग एकताबद्ध भएर— नयाँ परिवर्तनका लागि— निस्वार्थ भावले राष्ट्रलाई शिरमा राखेर उठ्यो, जाग्यो । त्यो बेला गगनभेदी आवाजहरू सर्वत्र गुन्जन्थे – “प्रजातन्त्र, प्रजातन्त्र, प्रजातन्त्र’’ भन्दै देशलाई स्वतन्त्रता दिलाउनकोलागि जनताका साथमा ऊ पनि लडिरह्यो । ऊ कुनै बिचार, दल, सिद्धान्त, समुह भन्दा माथि उठेर निस्वार्थ भएर नेपाल आमालाई छाती र शिरमा राखेर नेपालीको खोसिएको स्वतन्त्रताको लागि जनताको साथमा लडेको थियो । एउटा जुझारु युवा उसलाई नेता र दलहरुले दिएको आश्वासनमा त्यसरी नै पूर्ण विश्वास थियो जसरी पिताले पुत्रलाई दिएको आश्वासनमा ऊ पूर्ण आश्वस्त हुन्छ । देशको स्वाधीनताको लागि भष्ट्राचारीलाई फाँसिदिन, नेपाल र नेपालीलाई सम्वृद्ध बनाउन , मिलेर काम गर्न र जनताका आधारभूत आवश्यकता पूरा गर्दै समुन्नत राष्ट्रको स्थापना एवम् पहिचान हुन्छ भन्ने कुरामा ऊ ढुक्क थियो।

यसैकालागि ऊ मृत्युको पनि पर्बाह नगरी लड्यो, लडिरह्यो । ऊ चुटियो, कुटियो तैपनि अश्रुग्यास छिचोल्दै अगाडि बढीरह्यो । गोलीले उसको कपालको रौंलाई उडायो, उसको ढाड र अन्यत्रमा लट्ठीका सशक्त प्रहारहरू बजारिए, उ ढल्यो र हजारौं बुट ऊ माथी दगुरे । ऊ बेहोस भयो…..। त्यही मृत्युको मुखबाट बँच्न पुगेर जीउँदो सहिद भएको त्यो युवा अहिले कवि भएर यो कविता लेख्था लेख्थै त्यसबेलाको युवा कविन्द्रलाई भेटाईदियो ।

त्यो पुरानो् घटना जीवन्त भएर पुन स्मरण भयो । सारा नेपाली राष्ट्रभक्तहरूका ती आवाजहरू पुन: पुनः उसको कानमा गुञ्जिन थाले;
प्रजातन्त्र ल्याउँछौ, ल्याउँछौ,
भ्रष्टाचारीलाई फाँसिदे , फाँसिदे !
यो देश कसको ? जनताको , जनताको , ! नेपाल कस्को ? जनताको !
जनताको एकता जिन्दाबाद , जिन्दाबाद ……..!
….भ्रष्टाचारी चोर देशछोड,
देशघातीलाई फाँसी दे ……!

नभन्दै, प्रजातन्त्र आयो तर जनताको सुदिन आएन !

समय पानी झैं बही रह्यो । मानिसका मन मस्तिष्कहरूमा आशा र कल्पना पनि वहीरहे, उडिरहे !

फेरि पनि देश आपसी द्वन्दमा फँस्यो । धेरै निर्दोष नेपालीहरू मारिए । त्यसपछि नेपालमा गणतन्त्र पनि आयो । विकासका किरणहरू केही भुल्के पनि गर्न सकिने धेरै धेर कामकुराहरू पूरा गरिएनन् । परिणामतः जनताको जीत कहिल्यै आएन । नेता र पार्टिको हालीमुहाली भयो । भ्रष्टाचारीलाई संरक्षण भयो । नेपाली जनता बिखन्डित भए, महँगी र गरिबी आकाशियो ब्यापक अशान्ती र अराजकता फैलियो । सुशासन र न्याय माथि घात गरियो ….।

म झसंङ्ग भएँ, म बौरिएँ ,मलाई कसैकोे मधुरो आवाजको आभाष भयो,” ती हाम्रा आँशु हुन् ,हामी बोल्न सक्दैनौ, हामीले देशकालागि वलिदान गरेयौंँ , तिमी त बाँचेका छौ, तिमी हाम्रो भावनाको आवाज बन, देश, जनता र न्यायकोलागि जुझारु बन, ती आवाजहरू बुलन्द गर ।

म हठात् आन्दोलित भएँ अनि भावविभोर भएर मित्र राम खरेलजीलाई सम्पर्क गरें र आफ्नो वृतान्त सुनाएँ । मेरो कविताको भिडियो खिच्न सहयोग मागें ।

फलस्वरूप हालसालै यसको सम्पादन गरेर आज डिसि मेट्रो क्षेत्रमा रहेका तपाँईहरू परिचित मिडियाकर्मी मित्रहरू मार्फत यो विषेश भिडियो सार्बजनिक गर्दैछु ।

मैले यसलाई एउटा नयाँ चेतना र परिवर्तनको सन्देशको रुपमा लिएको छु । यही समयमा यसका साथसाथै यी सन्देशहरू भ्वाइस अफ कविन् यूटुब च्यानल मार्फत यहाँहरूलाई जानकारि गराइरहनेछु ।

नेपाललाई सक्षम र इमान्दार नेतृत्वको सुशासन चाहिएको छ । मेरा यी भावना र आवाजहरुले तपाईहरुको साथ सहयोग खोजी रहने छन्, खोजी रहने छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर