वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल — OSNepal

वरिष्ठ नेता पौडेल, सिटौला र कोइरालाबीच मण्डिखाटारमा छलफल

LC (KTM) June 28, 2021 0

काठमाडौँ, १४ असार- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे पार्टीका तीन नेताबीच आज छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।

सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर सो अवसरमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले राससलाई जानकारी दिनुभयो । “गुट उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो”, उहाँले भन्नुभयो ।
यस्तै, मुलुकको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका लागि छलफल र भेटघाट बाक्लिएको छ ।

केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधी र कोइराला निवासमा भेटघाट भइसकेको छ । यस्तै, सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल अगाडि बढाउनु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर