ओलीको टर्रो अभिव्यक्ति : नेपाललेखि न्यायालयसम्म निशानामा — OSNepal

ओलीको टर्रो अभिव्यक्ति : नेपाललेखि न्यायालयसम्म निशानामा

LC (KTM) June 29, 2021 0

काठमाडौं । एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो । तर, सोमबार मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप–प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच सोमबार बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता–कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, सोमबारको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए । ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता–कार्यकर्तामा व्याप्त थियो । सोमबारको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

ओलीले भने, ‘माधव नेपालजस्तो मान्छेलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’ उनी यतिमा मात्रै रोकिएनन् । उनले नेपाललाई ‘लाजसरम पचेको मान्छे’ को संज्ञासमेत दिए । ‘उनले भने, ‘मान्छे यतिसम्म पनि पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, पार्टी सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने अनि आफूलाई एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे,’ ओलीले भने ।

मदन भण्डारीको चर्चा गर्ने क्रममा पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाए । माधव नेपाल मदन भण्डारीको ‘विरोधी’ भएको उनको परोक्ष दावी थियो । मदन भण्डारीका लेखहरूको संग्रह प्रकाशित गर्दा वाचश्पति देवकोटालाई कारवाही गरेकोदेखि दासढुंगामा दुर्घटना भएको गाडीलाई संग्रहालयमा राख्न नदिएकोसम्म आरोप उनले नेपालमाथि लगाए । ‘अहिले मदनको जन्मजयन्तीमा विज्ञप्ति निकालेर राजनीतिक फाइदा लिन मात्र खोजेका हुन्,’ ओलीले भने । नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिए । नेपाल भविष्यमा प्रचण्डको पार्टीमा मिसिनुको विकल्प नरहेको उनले दावी गरे । ओलीले सोमबारको सम्बोधनमा कसैलाई बाँकी राखेनन् । कांग्रेसलाई उनले प्रचण्डपथमा हिँडेको आरोप लगाए । कांग्रेसका एक प्रदेश सांसदले आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई ईंगित गर्दै उनले सो आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर