डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा — OSNepal

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा

LC (KTM) November 13, 2022 0

कर्णाली-आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली काँगे्रसको ३३ हजार ६१६, मओवादी २६ हजार ७१३, एमालेको २६ हजार ६२८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार ४६७ मत छ । एक लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क हुनुहुन्छ ।

विसंं २०५१, २०५६, २०७० र २०७४ सालसम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गर्नुभएका उहाँले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सल्यानको विकास र समृद्धिको लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो ।”एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने संकल्प र परिवर्तित जनताको मत नै यस पटकको चुनाव जित्ने मुख्य आधार भएको दावी गर्नुभयो ।

डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जीत हुनेमा ढुक्क हुनुहुन्छ । विसं.२०७० संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा सदस्य जित्नुभएका उहाँले तेस्रो पटक पनि आफ्नो जीत सुनिश्चित रहेको जनाउनुभयो । डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा (माओवादी केन्द्रको चार हजार ८५५, एमालेको चार हजार ५४५, काँग्रेसको तीन हजार ६९ र नेकपा (एकीकृत समाजवादी)को एक हजार ३३४ छ । जिल्लामा २२ हजार ४४० मतदाता संख्या छ ।

उहाँका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकोले जीत आफ्नो पोल्टामा पर्ने जनाउनुभयो । “गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु,” उहाँले भन्नुभयो, “मतदाताले मेरो काम हेर्न चाहिरहेका छन् ।” प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगतकुमार बुढा, नेकपा माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन् ।

प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आ–आफ्नै दावी -सल्यान प्रदेश (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन् । उहाँले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जीत सुनिश्चित भएको बताउनुभयो । यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रम मात्र भएकोले जीत आफ्नो हात पर्ने तर्क गर्नुभयो । प्रदेश (२) क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजंग शाहले टक्कर दिइराख्नु भएको छ । उहाँ विसं.२०७४ को प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । यद्यपि काँग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जित्न सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौति बढेको छ । यसको फाइदा लिएर आफु जित्ने दाउमा भने एमाले छ ।

सल्यान (१) क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन् । त्यस्तै, (२) क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडाहरु पर्दछन् । डोल्पा क्षेत्र (१)मा गठबन्धन दलका साझा उम्मेदवार काँग्रेसका दीपेन्द्रबहादुर शाही र एमाले शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एक्ला एक्लै लड्दा जीत्न सक्ने क्षमता बनाएको काँग्रेसलाई गठबन्धनले जीत सहज बनाएको उहाँले बताउनुभयो ।

एमालेका बुढाले भने जस्तो सुकै गठबन्धन भएपनि आफ्नो जीत सुनिश्चित हुने जिकिर गर्नुभयो । त्यस्तै, क्षेत्र नं. (१) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिएपनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभयो । एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने मत व्यक्त गर्नुभयो ।

डोल्पा प्रदेश क्षेत्र (१) मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश क्षेत्र (२)मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन् ।

निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा एमाले, राप्रपा, नेकपा (माले) र दुई स्वतन्त्र गरी छ र डोल्पामा एक स्वतन्त्रसहित पाँच उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । सल्यानबाट क र ख प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित ११ र डोल्पा क र ख प्रदेशसभा सदस्यका ७ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।सल्यान र डोल्पाका दुवै जिल्लामा गठबन्धन दल, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माले)लगायतका पार्टीले यो चुनावमा भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर