बाढी पहिरो पिडितलाई मात्रै होइन, दु:खी र गरिबको सहारा बनेका पल शाहको कामको चौतर्फी तारिफ, दिइयो ‘रियल हिरो’ को सम्मान — OSNepal

बाढी पहिरो पिडितलाई मात्रै होइन, दु:खी र गरिबको सहारा बनेका पल शाहको कामको चौतर्फी तारिफ, दिइयो ‘रियल हिरो’ को सम्मान

LC (KTM) June 30, 2021 0

सोमवार ‘रजतपट कोशेली अभियान’ ले अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधि प्रदान गर्ने घोषणा गरेको थियो । तर, राहत वितरणका लागि राजधानी बाहिर भएकाले उनी सम्मान कार्यक्रममा उपस्थित हुन पाएका थिएनन् । मंगलवार एक कार्यक्रमका बीच रजतपट कोशेलीका प्रकाश सुवेदी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले उनलाई सात केजीको माला लगाएर सम्मान पत्र प्रदान गरे ।

कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गरेका उनले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताएका छन् । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाई छ । यो सम्मान पाउँदा भावुक भएको बताउँदै उनले सम्मान पाउनका लागि आफूले सामाजिक काम नगरेको बताए । अरुलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेहरुलाई पनि उनले जवाफ दिएका छन् ।

उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।

सोमवार पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यलाई रिहाइको माग गर्दै पलले राज्यको यसप्रकारको व्यवहारले राम्रो काम गर्न चाहनेहरु निरुत्साहित हुने बताए । ‘सरकारले गर्नुपर्ने काम अहिले आम जनताले गरिरहेको छ,’ उनी भन्छन्, ‘बेसहाराहरुका लागि सहारा बनेर काम गरिरहेको हाम्रो टिम नेपालका सदस्यलाई पक्राउ गर्नु अत्यन्त दुःखद कुरा हो । सरकारले लाजमर्दो काम गर्‍यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर