यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार — OSNepal

यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार

LC (KTM) June 30, 2021 0

साना, १६ असार – यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अल–जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताउनुभएको छ । मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै यस आक्रमणबाट एक बच्चा सहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

इरान समर्थित हुथी समूहले मध्य यमनको तेल खानी रहेको मरिब क्षेत्रलाई नियन्त्रणमा लिन पछिल्ला केही दिनदेखि सरकारी सेना विरुद्ध कारबाही थालेको छ । यहाँ साउदी अरबको समर्थन प्राप्त यमनको सरकारी सेनाको नियन्त्रण छ । मरिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झण्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण दश हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस अन्यत्र पलायन भएका छन् ।

संयुक्त राष्ट्रसंघले हालै द्वन्द्वरत पक्षहरुलाई वार्तामा ल्याई युद्धबिराम गराउने प्रयास समेत विफल भएको थियो ।यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । यमनका प्रमुख विद्रोही समूह हुथीले राजधानी साना सहित सबैजसो उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिएको छ । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर