ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गरिने — OSNepal

ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गरिने

LC (KTM) June 30, 2021 0

ओखलढुङ्गा- ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ ।

प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखे लगायत ४ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गर्ने प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारको पहलमा जिल्लाको पर्यटकीय गाउँ रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने काम थालिएको छ । भौगोलिक विकटताले सेवा प्रवाहमा कठिनाइ भएकाले एकीकृत बस्तीको कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “अव्यवस्थित र छरिएका बस्तीले नागरिकलाई सेवा प्रवाहमा कठिनाइ भएको छ । तीव्र विकासका लागि पनि एकीकृत बस्ती जरुरी छ ।” सिद्धिचरण नगरपालिकाको आठौं नगर सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक हिसाबले जिल्लामा दिगो विकासका लागि नयाँ योजनाहरु ल्याएको बताउनुभयो । “ओखलढुङ्गाको विकास र समृद्धिका लागि रचनात्मक काम गरिन्छ । यो वर्ष जिल्लाका सबै स्थानीय तहमा नमूना एकीकृत बस्ती विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा गाउँपालिकामा एक–एक ठाउँबाट र नगरपालिकामा ४ ठाउँबाट काम शुरु हुन्छ । त्यो गाउँमा काम सकिएपछि अर्को नजिकैको बस्ती विकासमा योजना सारिन्छ ।”

प्रदेश सरकारले बस्ती विकासका लागि स्थानीय तहसँग समन्वय गर्नेछ । स्थानीय तह र सरोकारवालाबीच समन्वय तथा छलफलका आधारमै नक्सा तयार गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने कार्यविधिमा उल्लेख छ । यसमा जग्गाको उपलब्धताका आधारमा बस्ती बसालिनेछ । आयोजना समन्वय समितिमार्फत लाभग्राहीको छनोट गरिनेछ । त्यस्तै, लाभग्राही छनोट गर्दा उनीहरूले बसोबास गरिरहेको स्थानको अध्ययन प्रतिवेदनलाई आधार बनाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर