कालो ढुसी भएका दुई दर्जनभन्दा बढी बिरामी वैकल्पिक औषधिको भरमा, कहिले आउने हो औषधी ? — OSNepal

कालो ढुसी भएका दुई दर्जनभन्दा बढी बिरामी वैकल्पिक औषधिको भरमा, कहिले आउने हो औषधी ?

LC (KTM) June 30, 2021 0

छिमेकी भारतमा कोभिडका बिरामीमाझ प्रकोपका रूपमा देखिएको म्यूकोर्माइकोसिस नेपालमा पनि देशभरि अहिलेसम्म करिब २६ जना बिरामीमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये महाराजगन्जस्थित शिक्षण अस्पतालमा मात्रै जेठ ३ गतेयता १३ जना भर्ना भएको उक्त अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गले बताए।

गएको शनिवारमात्रै थप दुई जना बिरामी भर्ना भएका र उनीहरूको अवस्था गम्भीर रहेको प्रधानाङ्गले बताए।

धेरैजसो बिरामी समय घर्किसकेपछि अस्पताल आउँदा जटिलता धेरै आउने र आँखा नै नदेख्ने हुने गरेको उनले बताए।

“म्यूकोर्माइकोसिस भएका एकजना बिरामीले ज्यान नै गुमाउनुभयो भने दुईजनाको आँखा निकाल्नुपर्‍यो। पछिल्लो पटक भर्ना हुन आएका दुईजना बिरामीको पनि अवस्था गम्भीर छ,” डाक्टर प्रधानाङ्गले भने।

वैकल्पिक औषधि
म्यूकोर्माइकोसिसका बिरामीलाई मुख्यतया ‘एम्फोटेरिसिन बी’ नामको औषधि दिइने गरिएको र अहिले उक्त औषधिको उपलब्ध नभएको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।

डाक्टर प्रधानाङ्गले भने, “यो औषधि अहिले बजारमा छैन। त्यसैले अहिले बिरामीले विकल्पका रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेका छन्।”

‘औषधि पाइएन’: कालो ढुसीको सङ्क्रमणपछि शल्यक्रिया गराएका व्यक्तिको पीडा
कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि, कसरी जोगिने
कोभिड बिरामीका आँखा बिगार्ने कालो ढुसी ‘झन्डै एक दर्जन जनामा’, डब्ल्यूएचओसँग औषधि माग
उनका अनुसार एम्फोटेरिसिन बीको दाँजोमा पोसाकोनाजोल सस्तो छ तर यसका ‘साइड इफेक्ट’हरू धेरै छन्।

एम्फोटेरिसिन बीलाई भारतले ‘निर्यात प्रतिबन्धित औषधि’को सूचीमा राखेपछि नेपालले म्यूकोर्माइकोसिसका बिरामीको उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनसँग उक्त औषधिको ३ हजार भाइल पठाउन अनुरोध गरेको थियो।

“त्यसरी माग गर्दा जुन महिनाको सुरुमा १ हजार भाइल नेपाल आए पनि त्यसले करिब १८ जना बिरामीको उपचार गर्न सम्भव भयो,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले भने।

कालाजारका बिरामीलाई प्रयोग हुने उक्त औषधि अब कालाजारको उपचारकै लागि पनि बाँकी नरहेको उनले बताए।

प्रवक्ता पौडेलले भने, “अहिले अवस्था चुनौतीपूर्ण छ। हामीले कालाजारको उपचारका लागि राखेको औषधि पनि म्यूकोर्माइकोसिस भएकै बिरामीलाई प्रयोग गरिसक्यौँ।”

“त्यही भएर हामीले विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरेका छौँ र दुई हजार भाइल आइदियो भने हामीले कालाजारलाई पनि व्यवस्थापन गर्न सक्थ्यौँ।” बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर