कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी — OSNepal

कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी

LC (KTM) November 25, 2022 0

कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गर्नुभयो । विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुनुहुन्छ ।

प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ । क्षेत्र नं ५ को प्रदेशसभा (१) मा भने मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका नेपालु चौधरीले सात हजार चार सय २३ मत पाउँदा नेकपा (माओवादी केन्द्र)का रमेश धामीले सात हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टीका श्रीराम चौधरीले चार हजार दुई सय ४९ मत पाउनुभएको छ ।

आज बिहानसम्म क्षेत्र नं ५ को प्रदेशसभा (१) मा २७ हजार चार सय मतगणना भइसकेको छ । निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ । बिहानसम्म जम्मा ५५ हजार आठ सय ५३ मतगणना भइसक्दा पन्तले १८ हजार पाँच सय २९ मत पाउनुभएको छ । एमालेका नारदमुनी राना थारूले १७ हजार छ सय सात मत पाउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा सात हजार छ सय ६३ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यो क्षेत्रमा अब झण्डै पाँच हजार मत गन्न बाँकी छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर