म प्रतिको विश्वास र माया नै मेरो जित हो : कृष्णप्रसाद सिटौला — OSNepal

म प्रतिको विश्वास र माया नै मेरो जित हो : कृष्णप्रसाद सिटौला

LC (KTM) November 25, 2022 0

काठमाडौं, ९ मंसिर । झापा क्षेत्र नम्बर ३ मा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पाएको मत र विश्वास नै आफ्नो जित भएको बताएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगेका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे । तर, आफूले पाएकै मत पनि आफ्नो जित भएको सिटौलाले प्रतिक्रिया दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सिटौलाले लेखेका छन्, ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो ।’

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देन र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई तथा शुभकामना दिँदै सिटौलाले जनताको चाहनाबमोजिम देश विकासमा लाग्न सधैँ प्रेरणा मिलोस् भनेर कामना पनि गरेका छन् ।

सिटौलाको स्टाटस :

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भूमिप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस्।

निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो।

चुनावमा हार जित त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन। अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागी डटिरहन अझ हौसला दिएको छ।

चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु। लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृड र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ। चुनावको नतिजाले नआत्तिनुहोस्। देश सेवामा म सँधै तपाईंहरुको साथमै हुनेछु।

निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ।

जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर