केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम — OSNepal

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

LC (KTM) November 28, 2022 0

खोटाङ, १२ मङ्सिर – केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको हो । गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण समेत गरिइएको छ ।

गाउँपालिकाले गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका नौ सय ४९ विद्यार्थीलाई यही मङ्सिर महिनाका लागि चार÷चारका दरले तीन हजार सात सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो । “चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ”, उहाँले भन्नुभयो, “पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको छ ।”

पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । अभ्यास पुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षिणक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ ।

विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले परीक्षण गर्ने गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो । “यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर शिक्षकमाथिको ‘निगरानी’ गर्न पनि ल्याइएको हो”, उहाँले भन्नुभयो, “कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो । यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना हुने अपेक्षा गरेका छौँ ।”

विद्यार्थीको कापी परीक्षण गर्ने नीतिले गाउँपालिकाभरिका विद्यालयमा पाठ्यक्रमलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा गृहकार्य नगर्ने विद्यार्थीले पनि नियमित गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको सङ्ख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । “विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ । शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको स्तर बनाउन तल्लो कक्षाको कापी परीक्षण गर्ने रणनीति बनाइएको हो । पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ । यसबाट विद्यार्थी, शिक्षक र विद्यालयबीच प्रतिस्पर्धा पनि हुन्छ ।”

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक र कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनु पर्नेछ ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए÷नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्यरुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिक–सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अङ्ग्रेजीको कापी परीक्षण गर्ने अवधारणा बनाइएको अध्यक्ष राई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर