अदुवा बिक्री नहुँदा किसान मर्कामा — OSNepal

अदुवा बिक्री नहुँदा किसान मर्कामा

LC (KTM) November 28, 2022 0

डोटी – यहाँका किसानले उत्पादन गरेको अदुवा बिक्री नभएपछि उनीहरू मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन नसकेको छैन ।

अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो रु ५० देखि ६० का दरले खरिद गरेका थिए । यस वर्ष किसान प्रतिकिलो रु ३० देखि ४० सम्ममा बिक्री गर्न बाध्य छन् ।

भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताउनुभयो । गत वर्ष आफूले रु ५० हजार हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको जानकारी दिनुभयो । सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनुभयो । साथै किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उहाँको भनाइ छ । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दै आएको छ ।

यहाँको दक्षिण क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा वार्षिक दुई सय क्विन्टलभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिका अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा छनोट गरीएको कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर अदुवाको बजारीकारण गर्न पहल भइरहेको पनि बताउनुभयो ।

गत वर्ष यस जिल्लामा सात सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकामा १४ हजार मेट्रिकटन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर