टिकटकले लिन थाल्यो एक्सन, पछिल्लो ३ महिनामा मात्रै ७३ लाख प्रयोगकर्ताको एकाउन्ट सस्पेन्ड, प्रयोगकर्ता निराश — OSNepal

टिकटकले लिन थाल्यो एक्सन, पछिल्लो ३ महिनामा मात्रै ७३ लाख प्रयोगकर्ताको एकाउन्ट सस्पेन्ड, प्रयोगकर्ता निराश

LC (KTM) July 01, 2021 0

काठमाडौं । टिकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेको छ। उमेर नपुगेका बालबालिकाले चलाइरहेको आशङ्का गरिएका अकाउन्टहरू निलम्बन गरिएका हुन्। टिकटकले निलम्बित अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।

किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। टिकटकले निलम्बित अकाउन्टका बारेमा पहिलो पटक आफ्नो समुदाय निर्देशिका प्रतिवेदनमा सार्वजनिक गरेको हो।

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सामाजिक सञ्जाल उद्योगलाई सहयोग हुने अपेक्षा गरेको टिकटकले बताएको छ। टिकटकले किशोर किशोरीलाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

“बालबालिकालाई सुरक्षित राख्न हामीले गरिरहेका कामहरू सार्वजनिक गर्न यो प्रतिवेदनमा कम उमेरका व्यक्तिहरूको हटाइएको अकाउन्ट सङ्ख्या राखेका हौँ,” टिकटकका सुरक्षा र विश्वास प्रमुख कोर्म्याक कीननले बताए।

उक्त चिनियाँ एप किशोर किशोरीमाझ चर्चित भए पनि हालै यसमा कम उमेरका बालबालिका बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्यु योर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

कम उमेरका प्रयोगकर्ता “टिकटकको एउटा चुनौती भनेको उमेर पुष्टि गर्ने यसको तरिका अन्य सामाजिक सञ्जालभन्दा फरक छैन,” टिकटक बुमका लेखक क्रिस स्टोकेल-वाकरले भने।

“दशकौँदेखि गलत जन्म मिति लेखेर र आफू उमेर पुगेको बताएर उमेर पुष्टिको नियमलाई तोड्न सकिन्छ।” “टिकटकसँग भएको प्रविधिले सायद यसले राम्रैसँग कम उमेरका प्रयोगकर्ताहरू चिन्न सक्छ तर त्यो प्रयोग गर्नका लागि यसले प्रयोगकर्तासँग माग्नुपर्ने अनुमतिले उनीहरूलाई असहज तुल्याउन सक्छ।”

टिकटकलाई यूकेमा बालबालिकाको तथ्याङ्क सङ्कलन र प्रयोगका बारेमा मुद्दा दायर गर्न लागिएको छ। ज्यानुअरीमा इटलीको निकायले एक १० वर्षीया बालिकाको मृत्यु भएपछि टिकटकलाई बालबालिकाको अकाउन्ट बन्द गर्न आदेश दिएको थियो। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर