सर्लाहीको नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भए — OSNepal

सर्लाहीको नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भए

LC (KTM) December 06, 2022 0

सर्लाही-सर्लाही बागमती नगरपालिका-८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि उक्र कार्यक्रम सुरु भएको थियो । कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा तीन वर्षे पशु प्राविधिक (भेटेरिनरी) कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम सुरु गर्न रु १० लाख बजेट छट्याइएको थियो । जसमा रु छ लाख भौतिक संरचना निर्माणमा खर्च भएको थियो भने बाँकी रु चार लाख विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा छुट्याइएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा कुखुरा पालनमा लगानी गरिएको विद्यालयका प्रधानाध्यापक बद्री पोख्रेलले बताउनुभयो । पहिलो चरणमा एक हजार ब्रोइलर कुखुरा पालनमा लगानी गरिएको थियो । जसमा १५ जना विद्यार्थी सहभागी भएका थिए । पहिलो चरणको कार्यक्रम अन्तर्गत कुखुरा बिक्रीभएपछि ४५ प्रतिशत आम्दानी आन्तरिक खर्चका लागि छुट्याइएको थियो भने बाँकी ५५ प्रतिशत रकम प्रति विद्यार्थी रु तीन हजार सात सयले आफूहरुले लिएको विद्यार्थी पूर्णप्रसाद उप्रेतीले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि विद्यालयले पशु प्राविधिक तर्फका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि आफ्नै जग्गामा कुखुरा, गाई, भैँसी, बाख्रा, बोका र पाडापाडी पालेको छ ।

पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीका लागि विद्यालयले सहयोगीका रुपमा काम गर्दै आएको छ । कृषि तथा पशुपालन अन्तर्गत ‘पढ्दै कमाउँदै’ गर्न चाहने विद्यार्थीलाई विद्यालयले सुरुमा सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादन बिक्रीपछि विद्यालयले ऋण असुल गर्ने प्रधानाध्यापक पोख्रेलको भनाइ छ ।पशुसेवा प्राविधिकतर्फको दोस्रो सेक्सनमा ‘पढ्दै कमाउँदै’ कार्यक्रममा हाल दुई जना विद्यार्थीहरु दिपिसा लामा र सलिना मगरले एक हजार तीन सय कुखुरा पालन गरिरहेका छन् ।

पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि व्यवहारिक सीप सिकाइ प्रभावकारी भएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा विद्यालयको भौतिक संरचना निर्माण, प्राविधिक प्रयोगशाला र पुस्तकालयको क्षेत्र समेटिएको छ ।विद्यालयले कृषि विषय अध्ययन गर्न चाहने विद्यार्थीले अनिवार्य कृषि कर्ममा काम गर्नुपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर