सप्तरीमा १३८ को जमानत जोगिएन — OSNepal

सप्तरीमा १३८ को जमानत जोगिएन

LC (KTM) December 06, 2022 0

सप्तरी-प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल एक सय ३८ उम्मेदवारको जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाका चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभामा ७० जना र प्रदेश सभामा एक सय ६ जना उम्मेदवार रहेका थिए । चार वटा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र लोसपा, नेकपा एमाले र जसपा तथा जनमत पार्टीका उम्मेदवार बाहेक सबैको जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार रहेकोमा जसपाका नवलकिशोर साह २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । यस क्षेत्रमा जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ र नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गर्नुभएको छ । अन्य सबै उम्मेदवारको जमानत नै फिर्ताहुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा ७४ हजार पाँच सय ६ मत खसेकोमा चार हजार तीन सय २१ मत बदर भएको थियो ।

क्षेत्र नं २ मा १६ जना उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले ३५ हजार ४७ मतले विजयी हुनुभयो । यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत र लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा तीन जना बाहेक अन्य १३ जनाको जमानत फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र २ मा ६४ हजार दुई सय १९ मत खसेकोमा ६० हजार नौ सय २१ मत सदर भएको कार्यालयले जनाएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा १८ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार एक सय ६६ मतले विजयी हुँदा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय र जनमत पार्टीका अनिस अन्सारीले १५ हजार एक सय १४ मत पाउनु भएको छ । त्यसबाहेक सो क्षेत्रमा १५ जना उम्मेदवारको जमानत जोगिएन । यो क्षेत्र मा ७१ हजार एक सय २२ मत खसेकोमा ६६ हजार आठ सय २० मत सदर भएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार चार सय ९१ मतले विजयी हुँदा जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत र जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार नौ सय २५ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा १६ जना १३ जनाको जमानत जोगिएन । यो क्षेत्रमा ६९ हजार ९३ मत खसेकोमा पाँच हजार एक सय एक मत बदर हुँदा ६३ हजार नौ सय ९२ मत मात्र सदर भएको थियो । यसैगरी प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्रका एक सय ६ जना उम्मेदवारमध्ये २६ जनाको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उम्मेदवारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर