लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि फलामे पुल बगायो ,स्थानीयवासीले निर्माण गरे काठे साँघु — OSNepal

लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि फलामे पुल बगायो ,स्थानीयवासीले निर्माण गरे काठे साँघु

LC (KTM) July 02, 2021 0

गण्डकी, १८ असार – लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् ।पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।

सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो । प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उहाँले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

वर्षात्को समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उहाँले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिनुभयो ।खुदी खोलामा नदीजन्य वस्तु ननिकाल्नका लागि यसअघि नै सहमति भइसकेका अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै एकताबद्धरूपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर