सर्वसाधारणसंग भएको प्रमाण मेटाउँदै सहकारी, बजारबाट उठाउँदै पासबुक ! — OSNepal

सर्वसाधारणसंग भएको प्रमाण मेटाउँदै सहकारी, बजारबाट उठाउँदै पासबुक !

LC (KTM) December 20, 2022 0

अनुसा थापा -काठमाडौं उपत्यकाभित्र सञ्चालन भएका ७५ प्रतिशत सहकारीहरु बन्द भइसकेका छन् । तीमध्ये अधिकांश चलाउनै नसक्ने अवस्थामा आएर बन्द भएका हुन् भने कति सञ्चालन बचतकर्ताको रकम कुम्ल्याएर भागेका छन् । भएका पनि सबै डुबिसकेका छन् । पैसा फिर्ता गर्न सक्ने अवस्था छैन् । बचतकर्ताहरु सहकारीको कार्यालय जान्छन्, रित्तो हात फर्किन्छन् । आफ्नो पैसा डुबेपछि उनीहरुका आँखा टिल्पिलाएका छन् । बचतकर्ताहरु सहकारी छ कि सञ्चालक भेटिन्छन् कि भनेर दिनहुँजसो कार्यालय धाइरहेका छन् ।

नभागेका सहकारीले विगत धेरै महिनादेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन् । न घरभाडा र कर्मचारीलाई तलब नै खुवाउन सक्ने अवस्थामा छ । भाग्ने भागिहाले, बन्द हुने बन्द भइहाले । बन्द नभएका सहकारीमा पैसा निकाल्नेको भीड छ । सहकारी भाग्ने हो कि भन्ने डरले गर्दा बचतकर्ताहरु सहकारीमै दिन कटाउँछन् । पैसा खाँचो नभएपनि विभिन्न बहाना बनाएर पैसा निकाल्न खोजिराखेका छन् । यतिखेर सबैलाई ब्याजको होइन्, साँवाको मतलब भएको छ ।
ब्याज खान राखेको साँवा नै डुब्छ कि भनेर सबै कामधन्दा छोडेर सहकारीमा लाइन बस्नेहरु यत्तिकै भेटिन्छन् । उनीहरु भन्छन्,‘काटी मार्ने सन्तान र माया मार्ने धन कसको हुन्छ ।’ पैसा माया मार्नुभन्दा बरु घरमा लगेर राख्यो भने चाहिएको बेला चलाउन पाइन्छ भन्ने उनीहरुमा छ । आफ्नै नातेदार, आफन्त र साथीभाइले खोलेको सहकारी भएपनि बचतकर्ताहरुले विश्वास गर्न छाडेका छन् । भोलि यिनीहरुले डुबाउँछन् भनेर बचतकर्ता बाठा भइसकेका छन् ।

विश्वासको पछाडि लागेर जिन्दगीभरको मेहिनत खेर फाल्न कसलाई रहर लाग्छ ? पछिल्लो समय मुलुकभर सहकारीको भागाभाग छ । सर्वसाधारणले सहकारीमा राखेको पैसा लिएर सञ्चालक भागेको घटनाहरु दिनहुँ बाहिर आइरहेका छन् । दिनहुँ दर्जनौ सहकारीहरु भागिरहेका छन् भने समस्याग्रस्त सहकारीहरु पनि उत्तिकै छन् । प्रायजसो सहकारीले बजार प्रतिनिधिलाई कामबाट निकालिसकेका छन् । सर्वसाधारणले पैसा राख्न छाडेपछि बजार प्रतिनिधि किन चाहियो ?
अक्कलझुक्कल सहकारीमा बजार प्रतिनिधि छन् तर जनताले पैसा राख्दैनन् । प्रतिनिधिहरु दिनभर हिँड्छन्, पसलपसल धाउँछन् तर कसैले पैसा राख्न चाहदैनन् । केही महिना अघिसम्म दैनिक ५० देखि एक लाख रुपैयाँसम्म उठाउने प्रतिनिधिलाई अहिले एक हजार रुपैयाँ उठाउन पनि मुश्किल छ । प्रतिनिधि गुनासो गर्छन्,‘सहकारीहरु भाग्छ भनेर व्यापारी, सर्वसाधारणहरु पैसा राख्न मान्दैनन् ।’ कसैले पैसा नराखेको देख्दा र सहकारीमाथिको गुम्दा विश्वासनीयताले प्रतिनिधिहरु आजित भएका छन् ।

कस्तो क्षेत्रमा जागिर खाइएछ ? भनेर उनीहरुलाई नै अफसोस भएको छ । सहकारीमा जागिर खाएर भविष्य छैन् भनेर प्रतिनिधिहरुले बुझिसकेका छन् । दिनहुँ अर्कोको गाली सुनेर वाक्क लागिसकेको बताउँछन्, उनीहरु । व्यापारीहरुले सहकारी चोर, फट्टाहा भन्न थालिसकेका छन् । सहकारीमाथि सर्वसाधारणले औंला उठाएका छन् । पसलेहरु सहकारीका प्रतिनिधि देख्नेबित्तिकै कालो मुख लगाउँछन्, निधार खुम्चाउँछन् । बाङ्गो मुन्टो लगाएर पैसा नभएको बताँउदै उनीहरुलाई फर्काउछन् ।

व्यापारीसंग व्यापार गरेको पैसा नहोला ? तर, उनीहरु सहकारीमा राख्न चाँहदैनन् । सहकारीमा राखेकै पैसा फिर्ता नपाँउदा सर्वसाधारणहरु रिसले चुरचुर भएका छन् । मर्दा र पर्दा चाहिन्छ भनेर राखेको पैसा नपाँउदा रिस उठ्नु स्वाभाविकै हो । धेरै सहकारीहरु भागेको देख्दा पनि उनीहरुले बहानाबाजी गरेका हुन् । त्यसैले पैसा छैन् भन्दै बजार प्रतिनिधिहरुलाई धमाधम फर्काइरहेका छन् । पैसा लिएर जाने तर फिर्ता दिने बेला हिच्किचाउने ।

पैसा लिनचाँहि आफैं आउने तर फिर्ता लिन आफैं धाउँदा पनि बहानाबाजी गर्ने । केही महिनायता यो क्रम बढेको छ । पैसा निकाल्न कार्यालयमै पुग्यो भनेपनि कुनै न कुनै बहाना बनाएर रित्तो हात फर्काइदिन्छन् । खाइ नखाई दुःख गरेर हिजो पैसा लगेर सहकारीमा राखे । भोक पेटमा पटुका बाँधेर काम गरे । अलिअलि जोहो गर्यो भने भविष्यमा काम लाग्छ भनेर सोचेर राखेका थिए । तर, अहिले त्यही पैसा आफ्नो लागि बोझ बनेको छ । सहकारीहरु मेहिनेतको कमाइ लिएर भागेपछि कसलाई पीर पर्दैन् ? दिनकै सहकारी धाउनुपर्ने बाध्यता छ ? आज दिन्छ कि भोलि भन्दै बचतकर्ताहरु हिँडेका छन् ।

कोही पैसा डुब्यो भनेर सहकारीमै रुन्छन् । एकातिर दुःख अर्कोतिर पैसा फिर्ता नहुने डर । सहकारीले सर्वसाधारणलाई डुबाउनसम्म डुबायो । बुढापाकाले भन्थे,‘पैसा हातले दियो, गोडालाई दुःख ।’ सहकारीमा ठ्याक्कै यही नै लागु पग्यो । जनताले हातले पैसा दिएका थिए तर गोडाले नपाउनुसम्म दुःख पाइरहेको छ । कतिपय सहकारीले भटाभट बजारबाट पासबुक मागिरहेका छन् ।

पासबुक ल्याएर फोहोरको थुप्रोमा फ्याँक्ने अनि कुलेलम ठोक्ने । यस्तो गर्यो भने आफूलाई अप्ठ्यारो पर्दैन् । उजुरी गर्ने ठाँउ नै बाँकी राखेका छन् । पासबुक नभएपछि उनीहरुले उजुरी गर्ने ठाँउ हुँदैन् । प्रहरी र स्थानीय निकायले त प्रमाण माग्छ । लिखितको अगाडि मौखितको काम छैन् । सर्वसाधारणहरुले विश्वासले सहकारीमा पैसा राखेका हुन्छन् । उनीहरुले साँच्नै नै चेक गर्ने होला भनेर पासबुक दिन्छन् । तर, सहकारीले पासबुक लगेर जलाउँछ, गाँड्छ, फोहोरको थुप्रोमा फ्याँक्छ भनेर सर्वसाधारणलाई थाहा हुँदैन् ।

प्रमाण नै नष्ट भएपछि सर्वसाधारण के प्रमाण लिएर उजुरी गर्न जाने ? उपत्यकाभित्रका अधिकांश सहकारीले यो काम गरिरहेको छ । सहकारीहरुको जनतालाई डुबाउने दाउबाट सम्बन्धित निकाय नै बेखबर छ । न सहकारी विभाग यस विषयमा जानकार छ न स्थानीय सरकार । सबै टुलुटुलु रमिते बनेर हेरिरहेका छन् । बजारमा कति पैसा राख्ने व्यापारीहरु तीन महिनादेखि बजार प्रतिनिधि पैसा उठाउन नआएका बताउँछन् । पासबुक पनि फिर्ता नल्याएको र अफिस पनि बन्द भएको उनीहरुका भनाइ छ ।

तर, अब उनीहरुको हालत के हुन्छ ? कुन सहकारीमा कतिले खाता खोलेको छ ? कति रकम बचत गरिएको छ ? यसको विवरण त सरकारसंग छैन् । न सहकारी विभागले राखेको छ न स्थानीय सरकारले । सहकारी सञ्चालकहरुले आफू फस्ने देखेपछि पहिलै योजना बनाइसकेका छन् । एकातिर सरकारसंग डाटा छैन् अर्कोतिर पासबुक नै नरहिपछि कसले उजुरी गर्ने । सहकारीहरु योजनाबद्ध रुपमा अघि बढिसकेको छ । भोलि आफूमाथि उजुरी पर्छ, सम्पत्ति बेचेर सर्वसाधारणको पैसा चुक्ता गर्नुपर्छ भनेर उनीहरु बाठा भएका हुन् ।

सहकारी सञ्चालकले पैसा दिए ल्याउनु होइन् भने पासबुक ल्याउनु भनेर प्रतिनिधि खटाइराखेका छन् । अफिसमा ल्याएपछि त्यो पासबुक फिर्ता दिँदैनन् । चेक गर्नुछ भनेर लामो समय अड्काइदिने कि हरायो भनेर बहाना बनाउने । तर, कुनै हालतमा फिर्ता नगर्ने । न पैसा भो न पासबुक । सर्वसाधारणहरु थप मर्कामा परेका छन् । पीडामाथि पीडा थपिएको छ । यति सजिलो तरिकाले सर्वसाधारणलाई सहकारीले ठग्यो र कानुनबाट पनि बच्न खोजे ।

सहकारी विभाग र स्थानीय सरकारले नियमन नगर्दा सर्वसाधारण मर्कामा परे । सर्वसाधारण ठग्नुमा सरकारकै मिलेमतो छ । सहकारीले धितो नराखीकन ऋण दिँदैन् । तर, एउटा पासबुकको आधारमा सर्वसाधारणको लाखौं रुपैयाँ उठाएको छ । सरकारले सहकारीकै पक्षमा कानुन बनाउँदा यस्तो अवस्था निम्तिएको हो । पहिल्यैदेखि सहकारीहरलाई छाडा छोडियो । जे गरेपनि सहकारीलाई छुट । सहकारीले विगत लामो समयदेखि सर्वसाधारण ठग्दै आएका थिए ।

जुन अहिले धमाधम बाहिर आइरहेको छ । तर, अहिले धेरै ढिलाइ भइसकेको छ । जनता ठगिनुसम्म ठगिसकेका छन् । अधिकांश सहकारी भागिसकेका छन् । प्रमाण पनि सहकारीहरुले मेटाइसकेको छ । यतिखेर सर्वसाधारणसंग रुने र कराउनेबाहेक अन्य केही विकल्प छैन् । सहकारी विभाग, स्थानीय सरकार र विज्ञापन बोर्ड अझै पनि मौन बसेको छ । पासबुक सहकारीमा नराख्नु भनेर कुनै पनि निकायले सूचना निकालेको छैन् । सर्वसाधारणलाई सचेत बनाउने काम त यिनीहरुको हो ।
यता, सर्वसाधारण पनि आफैं चनाखो हुनुपर्ने बेला भएको छ । होइन् भने भोलि ठग सञ्चालकहरु कानुनबाट उम्किन्छन् । न सजाय काट्नुपर्छ न सर्वसाधारणको पैसा फिर्ता गर्नुपर्छ । नेपालीहरु धेरै सीधा छन्, छिट्टै विश्वास गर्छौ । तर, यसले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । पासबुक सहकारीले माग्यो भने नदिऔं । आफू माथि पर्नका लागि सहकारीले यो योजना बुनेको हो भनेर सर्वसाधारणले बुझ्नुपर्छ । सहकारीको नौटंकी बुझ्न गाह्रो छ । भनिन्छ नि,‘निदाएकोलाई उठाउन सकिन्छ तर नाटक गर्नेलाई उठाउन सकिँदैन् ।’ सर्वसाधारणहरु अहिले नै सचेत बनाऔं, पासबुक जोगाइराखौं र आफ्नो पैसा निकाल्न हरकोशिस गरौं । थप पैसा नराखौं र अरुलाई पनि सुसुचित गराऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर