सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा — OSNepal

सोमबार रातभर पशुपतिनाथमा धनुर्मास पूजा

LC (KTM) December 20, 2022 0

काठमाडौँ-सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा रहिआएको छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पचास दिनसम्म पानीको सतहमुनि बस्ने भएकाले मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी पनि खुवाउने परम्परा पनि छ । सोमबार राति १ बजेदेखि आज बिहान ६ बजेसम्म धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारी जानकारी दिनुहुन्छ । आजको विशेष पूजा पनि राति नै सम्पन्न गरिएको छ ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि मङ्गलबार पशुपतिनाथलाई उपवास राख्ने भएकाले आज अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँको भनाइ छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाइ घाममा शयन गर्नुहुने धार्मिक विश्वास रहेको छ ।

यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइने र बेलुकीे शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । राससको जिज्ञासामा बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुली जानकारी दिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर