फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै — OSNepal

फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

LC (KTM) December 22, 2022 0

खोटाङ-  दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको सुनकोसीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण सुरु गरेको १० वर्षपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।

तराईसँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “तराईसँग सिधा यातायात सम्पर्क नहुँदा जिल्लाको भौतिक विकासमा समेत असर परेको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि सुनकोसीस्थित फोक्सिङ्टारमा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै आवतजावतका साथै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीमा सहज भएको छ । यसले जिल्लाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको छ । पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्ने क्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।

अस्थायीरूपमा जडान गरिने फोक्सिङ्टारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नाका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लावासीको बाध्यता थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवतजावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको हो ।

खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाट पछिको अर्को महत्त्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष बर्सातको समयमा यातायात ठप्प हुने गरेको थियो । पुल अभावमा हरेक वर्ष करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुने गरेको थियो ।

फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन विसं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेको थियो ।

फोक्सिङ्टारमा सुरुमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पक्की पुल निर्माण गर्ने भन्दै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङ्टारको भौगोलिकस्वरूप अप्ठ्यारो भएका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको हो ।

फोक्सिङ्टार पुल निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएसँगै गत निर्वाचनमा जिल्लास्थित राजनीतिक दलका नेताहरूको जस लिने माध्यम बनेको छ । गत मङ्सिर ४ गते देशभर एकैसाथ भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होडबाजीमा नेताहरू लागेका थिए ।

फोक्सिङ्टारमा पक्की पुल निर्माणको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ‘पासाङ’ र समिता कार्की ‘अस्मिता’को पालामा आर्थिक वर्ष ०६७÷६८ मा परेको हो । योजना जसको पहलमा परे पनि फोक्सिङ्टार पुल सञ्चालनमा आएपछि भने जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य घट्नाका साथै आवतजावतमा सहज भएको छ ।

यात्रुहरूको समस्यालाई दृष्टिगत गर्दै फिनिसिङ (रङरोगन तथा वाइरिङ)को काम सम्पन्न नहुँदै निर्माणाधीन फोक्सिङ्टार पुलमा यातायात सञ्चालन गरिएको निर्माण व्यवसायी रामकुमार थापाले बताउनुभयो । “निर्माणाधीन फेक्सिङ्टार पुलमा अहिले रङरोगन र वाइरिङ गर्ने काम तीव्र गतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “हप्ता दिनभित्र सबै काम सम्पन्न गरेर औपचारिकरूपमा उद्घाटन गर्ने तयारीमा लागेका छौँ ।”

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल एक सय २० मिटर लामो छ । फोक्सिङ्टार पुल रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको हो ।

यता, कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक अलपत्र अवस्थामा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त महुरे–फोक्सिङ्टार सडक कालोपत्र ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको हो ।

मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडकखण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो । दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर